
काठमाडौं । नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युन तलब लिएर पनि काम गर्दै आएका शिक्षकलाई आर्थिक मार पर्ने गरी एक शिक्षक नियुक्तिको प्रयास भएपछि राजविराज– १ चनौरा पडरियास्थित आशिमियाँ दारुलउलम मदरसामा विवाद चर्किएको छ । राजविराज नगरपालिकाले शिक्षा शाखामार्फत सो मदरसालाई दिँदै आएको २ लाख ४१ हजार रुपैयाँमध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैयाँ तलबमा दुई जना शिक्षक काम गर्दै आएका थिए ।
अहिले सोही अनुदान रकमबाट तलब खानेगरी तेस्रो व्यक्ति नियुक्तिको प्रयास गर्दा घटेर मासिक ५ हजार ५ सय ५५ रुपैयाँ तलब भागमा पर्ने भएपछि शिक्षक र व्यवस्थापन सिमितिका अध्यक्षबिच विवाद चर्किएको हो । विवाद चर्किदै गएपछि बिहीबार मदरसा परिसरमै बसेको प्रधानाध्याक, शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भेलामा समेत एक अर्कामाथि आरोप प्रत्यारोपबाहेक कुनै समाधान निस्कन सकेन ।
मदरसामका प्रधानाध्यापक रुबिना बेगमले नगरपालिकाबाट अनुदानस्वरुप आउन वार्षिक २ लाख ४१ हजार रुपैयाँमध्ये ४१ हजार रुपैयाँ मरदसा व्यवस्थापन समितिका अध्यक्ष आशिन मियाँले स्वयम् लिने गरेको र बाँकी २ लाख मध्येबाट आफु र मौलबीसहित दुई जनाको तलबमा खर्च हुने गरेको बताइन् ।
बाँकी प्राप्त हुने २ लाख रुपैयाँ २ जना शिक्षकले मासिक जनही ८ हजार ३ सय ३३ रुपैयाँ तलब पाउने गरेकामा अहिले सोही अनुदान रकमबाट तलब खानेगरी मदरसा व्यवस्थापन समितिका अध्यक्ष आशिन मियाँले आफन्त पर्ने तेस्रो व्यक्ति नियुक्तिको प्रयास गर्दा आफुहरुलाई मारमा पर्ने प्रधानाध्यापक रुबिना बेगमको भनाइ छ ।
‘पहिले देखिनै न्युन तलबमा काम गर्दै आइरहेका छौं,’ प्रधानाध्यापक बेगमले भनिन्, ‘अब सोही बजेटबाट तलब पाउने गरी मनपरि ढंगले अध्यक्षले थप एक जना मौलबी राख्न खोजेपछि हाम्रो तलब घटेर ५ हजार ५ सय ५५ रुपैयाँ पुग्ने भएकाले विरोधमा उत्रेका हौं ।’
उनले आफुहरुलाई जागिर छोड्न बाध्य बनाउन र आफन्तहरुलाई भर्ना गर्ने नियतले अध्यक्षले गैर कानुनी ढंगले थप एक जना मौलबीलाई गत ४ जेठदेखि काममा लगाएर नियुक्तिपत्रका लागि नगरपालिकाबाट दबाव बढाउँदै लगेको आरोप लगाए । उनले नगरपालिकाबाट अनुदानवापत प्राप्त हुने २ लाख ४१ हजार रुपैयाँमध्ये ४१ हजार अध्यक्ष आशिनले आफैं राख्ने गेरेकोमा सो रकम फिर्ता गर्नुपर्ने मागसमेत गरेकी छन् ।
मदरसाका शिक्षक मो. युनिसले व्यवस्थापन समितिको बैठक बस्दै नबसेको र अध्यक्षले आफु खुसी निर्णय गरी घरघरमा गई दबाव दिएर समितिका सदस्यसँग निर्णय पुस्तिकामा हस्ताक्षरको प्रयास गर्ने गरेको बताए ।
अध्यक्ष आशिनले भने मदरसा व्यवस्थापनका लागि आफूले ४१ हजार रुपैयाँ लिने गरेको स्वीकार गरेका छन् । यस्तै, उनले मदरसामा थप शिक्षकको आवश्यकता महसुस भएकाले एक जनालाई राख्न लागेको भेलामा प्रस्टीकरण दिएका छन् । ८४ जना बालबालिका अध्ययन गर्ने सो मदरसामा उर्दु, अरबी दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाइ हुन्छ । तर , आवश्कताअनुसारको शिक्षक अभाव भएपछि थप एक जना मैलबी राखिएको उनले स्पष्ट पारेका छन् ।
आवश्यक बजेटको खोजी र व्यवस्थापन नगरी पहिलेदेदि नै थोरै तलबमा काम गर्दै आएका शिक्षकको तलब कटौती गरी थप शिक्षकको भर्ना गर्न उचित छ त ? भनी भेलामा अभिभावले राखेको जिज्ञासमा अध्यक्ष आशिनले कुनै चित्त बुझ्दो जवाफ दिन नसकेको अभिभावक अपसाना खातुनले बताइन् ।
‘अहिले थप शिक्षक राख्ने अवस्था र आवश्यकता दुवै छैन’, अर्का अभिभावक अमिना खातुनले भनिन्, ‘अध्यक्षले यसरी नै मनोमानी गर्ने हो भने हामी आफ्ना सन्तालाई यहाँबाट हटाएर अर्को विद्यालयमा भर्ना गराउँछौ ।’
अभिभावक सखेला खातुनले थप शिक्षक राख्ने नै हो भने अध्ययक्षले पहिला थप बजेटको व्यवस्था गर्नु पर्ने माग गरिन् । भेलामा अध्यक्ष आशिनले उल्टै जागरिबाट हटाइदिन्छु भनी धम्की दिएको भन्दै प्रधानाध्यापक, शिक्षक र अभिभावकले उनी विरुद्ध नगरपालिका, शिक्षा समन्वय इकाई तथा अन्य निकायमा उजुरी दिने निर्णय गरेको प्रधानाध्यापका बेगमले बताइन् ।
२०६६ सालमा स्थापित सो मदरसामा उत्पन्न विवादले बालबालिकाको पठनपाठनमा समेत असर पार्ने भन्दै स्थानीयले यसको सत्यतथ्य छानबिन गरी अविलम्ब समस्या समाधान गर्न माग गरेका छन् ।
आजको राजधानिक पत्रिकामा खबर छ ।