
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारस्थित सडकमा प्रदेश.३–०१–०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं पैंयुटार बस्ने रसुवा उत्तरगया गाउँपालिका–५ घर भएका १५ वर्षीय रोनिस थापा रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजंगजमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी काठमाडौंकै महानगरपालिका–३ स्थित सडकमा बा.७९ प ३४६४ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–७ बस्ने ३० वर्षीय शिरिष कुमार सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ना.३ ख ७९१७ नम्बरको ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छट । मृत्यु हुनेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ बस्ने सुनिता श्रेष्ठकी छोरी ३ वर्षीया दर्शना श्रेष्ठ रहकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाको धनौजि गाउँपालिका–४ भडरिया हाडा टोलमा साईकलबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा औरहि गाउँपालिका–२ परवाहा बस्ने अब्दुल साफिको छोरा ७ वर्षीय आर्यन साफि रहेका छन् । लडेर गम्भीर घाइते भएका उनको सिटि अस्पताल जनकपुर हुँदै प्रादेशिक अस्पताल सिरहामा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी सप्तरीको रुपनी गाउँपालिका–१ स्थित सडकमा स.४ प ५७६० नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार उक जना मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–३ हर्दिया टोल बस्ने ४५ वर्षीया सिलावती मुखिया रहेकी छिन् । दुर्घटनामा गम्भीर
घाइते भएकी उनको युनिक अस्पताल रुपनी सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै दुर्घघटना सम्बन्धि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।