सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोतका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यसहित तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी, तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगका अनुसार उनीहरूले रुपन्देही जिल्लाको साविक भुजौली-९(ख) मा रहेको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरी अनियमितता गरेको पाइएको छ ।

उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो चार करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ कायम गरी सजायको मागदाबी गरिएको आयोगले जनाएको छ । आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो ।

सम्बन्धित खबर

सिफारिस