भक्तपुर, भदौ १७ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् ।
देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो ।
अस्पतालमा आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताए ।
उनले अस्पतालमा व्यापकरूपमा भएको भ्रष्टाचार रोक्न पटकपटक आग्रह गर्दा पनि मनोमानी गरेपछि बाध्य भएर अस्पताल जोगाइदिन स्थानीय सरकारका रूपमा रहेको भक्तपुर नगरपालिकालाई लिखितरूपमै आग्रह गरेपछि नगरपालिकाले साउन ३० गते पुरानो समिति भङ्ग गरेर नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको बताए ।