काठमाडौँ, भदौ १७ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल मंगलबार हेटौँडास्थित उच्च अदालतको इजलास पुगेका छन् । शालिकराम आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले आदेश गरेको धरौटीको बदरको माग गर्दै रवि लामिछाने उच्च अदालत पुगेका हुन् ।
मंगलबार लामिछाने र कँडेलले हेटौँडास्थित उच्च अदालत पाटनको इजलासमा निवेदन दर्ता गराएका हुन् । निवेदनमा ‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखमा रहि मुद्धा पुर्पक्ष गरिपाउँ’ भनि उल्लेख गरिएको थियो ।
उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।