काठमाडौं, भदौ १८ । चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुन: नेपाल आउने भएका छन्।
तर यसपाली उनले राष्ट्रिय टोली नभई नेपालका व्यवसायिक टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिनेछन्।
भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन्।
उनले भने, “चर्चित क्रिकेट हस्तीलाई टोलीको अङ्ग बनाउन पाउँदा हामी गौरवान्वित छौँ। उनले फ्रेञ्चाइज क्रिकेटलाई मात्र होइन, नेपाली क्रिकेटका लागि नै नयाँ प्रतिभाहरु खोज्नेछन् भन्ने हामीलाई विश्वास छ।”
भर्खरै मात्र उमेश पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएकोले दशानायकेलाई तत्काल राष्ट्रिय टोलीमा फर्किने ठाउँ छैन।
नेपाललाई आफ्नो दोस्रो घर बताउने दशानायकेले नयाँ भूमिकामा आफू उत्साहित भएको बताएका छन्।
उनले भनेका छन्, “नेपाल सधैँ मेरो मुटु नजिक छ। म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।”
इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ।
श्रीलङ्कामा जन्मेका क्यानडाली नागरिक ४९ वर्षीय दशानायके सन् २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक थिए।
सन् २०११ मा क्यानडालाई विश्वकपसम्म पुर्याएका उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो।