गगन थापा भन्छन्, ‘प्रधानमन्त्री बा ! धपडी नगर्नुस्, विश्राम लिनुहोस्’

दियो पोस्ट  

काठमाडौँ, भदौ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीको विकल्प खोज्न आग्रह गरेका छन् । बुधबार संघिय संसदमा बोल्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली लाई आराम दिएर नयाँ प्रधानमन्त्री किन नचुन्ने भन्दै प्रश्न गरेका छन् ।

उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै नेता थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको कारण उनलाई आराम दिनुपर्ने बेला आएको बताएका हुन् । उनले संसदमा बोलेका कुरा जस्ताको तस्तै ः

सम्माननीय प्रधानमन्त्री उपचारको लागि सिंगापुरमा हुनुहुन्छ । नेपाली काँग्रेस उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । हामीले अथक प्रयास गरेर संसदबाट केहीसमय अगाडी एउटा कानुन पारित गर्यौँ–‘कुनै व्यक्तिलाई विदेश उपचार गर्नुपरेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन ।’ कानुनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । नागरिकहरुको यस विषयको अन्य चासोहरुलाई प्रधानमन्त्रीज्यूले उपयुक्त समयमा बताउनु नै हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

सभामुख महोदय, प्रधानमन्त्रीज्यूको उपचारको बारेमा यथार्थ जानकारी सरकारले सांसदलाई जानकारी गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जान्न पाउनुपर्दछ । प्रधानमन्त्रीको नीजि चिकित्सकलाई उदृत गर्दै छापाहरुमा आएको सिमित सुचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ । हामी चाहन्छौँ, सम्पुर्ण सुधार होस् ।

मृगौला प्रत्यारोपण गराउनुभएको प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशिलता, योगदान संसारको लागि नमुनायोग्य होस । तर केही चिकित्सकहरुले संकेत गर्नुभएको अनुसार प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार अर्थात पटकपटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने चाहीँ के गर्ने ?


संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारीणी अधिकार मन्त्रीपरिषदमा नीहित छ र मन्त्रीपरिषदको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । संसदीय पद्धतीमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिशन होइन दिएजति जिम्मेवारी प्रधानमन्त्रीले निभाउँनुपर्छ । पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ । हाम्रो प्रधानमन्त्रीले यी सबै गर्न इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर, इच्छाशक्ति मात्र सबैकुरा होइन, शारीरिक स्वास्थ्यले पनि धेरै कुराको निर्धारण गर्छ ।

प्रधानमन्त्री, राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्टुडियन हुनुहुन्छ । कार्यकारी प्रमुख एकैपटक लामो समयसम्म एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा, आदीमा जोखीमको प्रश्न त छँदै छ , प्रत्येक दुइतीन महिनामा १०÷१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको व्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पुरा हुन सक्दैन ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जान पर्ने अवस्था आउन सक्छ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्नु स्वभाविक हुन्थ्यो । तर यहाँ यस्तो अवस्था छैन । यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्नँ सक्छ । एकसय एक प्रधानमन्त्री हुनुभएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुन इच्छा राख्ने व्यक्तिहरु पनि हुनुहुन्छ । यस्तो बेलामा प्रधानमन्त्रीलाई विश्राम दिन किन चाहिरहेका छैनौँ ?

मैले धेरै पटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्वोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौँ ? ‘बा धपेडी नगर्नुहोस् ’, ‘बा आराम गर्नुहोस्’ ‘बा विश्राम लिनुहोस्’ । हामी हाम्रो बालाई त्यसो भन्छौँ, प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौँ ? म कसैलाई मात्र भनिरहेको छैन । यो गल्ती हिजो हामीले पनि गर्यौँ । यो अन्याय हिजो हामीले पनि गर्यौँ र सवैभन्दा बढी नजिक बस्ने मान्छेले यो अन्याय गर्यो । यो अन्याय तपाईँहरु नगर्नुहोस् । ंयो गल्ती तपाईँहरु नदोहोर्याउनुहोस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस् किनकी नेपालको आन्दोलन र शान्ति प्रक्रियामा ठुलो योगदान पुर्याउनुभएको, स्वाभिमानको लडाँईमा एक अथक योद्धाको रुपमा काम गर्नुभएको प्रधानमन्त्री लामो समयसम्म हाम्रो बिचमा अविभावकको रुपमा देख्न चाहन्छौँ ।

शरीर सबैको शरीर हो । मन सबैको मन हो । प्रधानमन्त्रीको मनको इच्छाशक्तिको प्रशंसा गर्दछु । म फेरी पनि कामना गर्छु । त्यहाँबाट फर्केर सम्माननीय प्रधानमन्त्रीले यसै रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गछौँ, कामना गर्छौँ कि ‘म लगातार कुनै विश्राम नलिइकन काम गर्न सक्ने अवस्थामा छु । म आवश्यकता पर्दै गर्दा २४ घण्टा सम्म काम गर्न सक्छु ’ त्यस्तो अवस्था आओस् । तर, यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्न चाहन्छु, यो कुरा सुन्दा कतिलाई रिस पनि उठ्ला तर व्यक्तिगत कुरा होइन । यो सिंगो देशको कुरा हो, देशभन्दा पहिला मानवीयताको विषय पनि हो । प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरा नबिर्सौँ धन्यवाद जय नेपाल ।

सिफारिस