काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालगन्जबाट सुर्खेतको भीरबाट खसालेर गाई मारिनु जगन्य अपराध भन्दै कारवाहीको माग गरेकी छन्।
उनले बुधबारको प्रतिनिधसभा बैठकको विशेष समयमा बोल्दै नियोजित ढंगले नेपालगन्जबाट गाई लगेर दैलेखको जंगलको भीरबाट खसालेर मारेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद संग्रौलाले नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको धार्मिकस्थलका लागि भन्दै २९० वटा गाई पठाएको र ती गाईमध्ये जंगलको भीरबाट खसाल्दा २४ वटा मरेको र सयौं घाइते अवस्थामा भेटिएको भन्दै गौहत्याको घोर भत्सना गरिन्।
उनले उक्त घटनामा संलग्नलाई किन कारवाही नगरिएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘घटनामा संलग्नलाई अहिलेसम्म किन कारवाही गरिएको छैन? छानविन समितिले के गर्दैछ? यसको छिटोभन्दा छिटो सत्य तथ्य बाहिर ल्याउनुपर्यो।’
‘गाई नेपालको धर्म, परम्परा र संस्कृतिसँग गाँसिएको छ। नेपालको कानुनले गौहत्यालाई जघन्य अपराध ठहराएको छ,’उनले भनिन्, ‘जघन्य अपराध गर्नेलाई किन कारवाही हुँदैन।’
उनले खोटाङमा कुकुर मारेको प्रशंग उठाउँदै भनिन्,’ खोटाङको मजुवा नगरपालिककाका मेयरले आफैले पैसा दिएर कुकुर मार्न लगाएको कुरा बाहिर आएको छ। पशुअधिकारवादीहरुले कुरा उठाइरहेका छन्। कुकुर मार्ने काम बन्द गरियोस्। पशुअधिकारको कुरा सरकारले सुनिदेओस्।’