गगनको गनगन: ‘बा’ धपेडी नगर्नुहोस्, आराम गर्नुहोस् !

दियो पोस्ट  

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेता थापाले प्रधानमन्त्री ओली पटक पटक उपचारका लागी बिदेश जानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने भएकाले बिश्राम गर्न सुझाव दिएका हुन।

उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरे । उनले भने “मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौ? बा धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौ । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौ ?” प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उनले विकल्प खोज्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने “कार्यकारीणी प्रमुख एकै पटक लामो समय सम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदीमा जोखिमको प्रश्न त छँदै छ । प्रत्येक २-३ महिनामा १०-१२ दिन विदेश गएर टेलिप्रिजेन्स मार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने शासकिय जिम्मेवारी पुरा हुन सक्दैन । ” नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै उनले अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिन आग्रह गरे ।

थापाले प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी नगराएको भन्दै असन्तुष्टि जनाए । प्रधानमन्त्रीका निजी चिकित्सकलाई उद्धृत गर्दै आएका समाचारहरुका आधारमा स्वास्थ्य सुधार उन्मुख रहेको अनुमान लगाउन सक्ने भन्दै उनले सम्पूर्ण सुधारको कामना गरे । उनले अघि भने, ‘मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमूना बनोस् ।’

तर केही चिकित्सकले संकेत गरेको जस्तो पटकपटक विदेश गएर वा विश्राम लिएर उपचार गर्नु पर्ने भए के गर्ने भन्ने प्रश्न उठाए । प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको भन्दै उनले भने, ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’

प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रियामा योगदान पुर्‍याएको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रुपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रुपमा हेर्न चाहेको उनले बताए ।

सांसद थापाले भने, ‘प्रधानमन्त्रीको मनको इच्छाको सम्मान गर्छु र फेरि पनि कामना गर्छु कि फर्किएर आएपछि प्रधानमन्त्रीले रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौं कि विश्राम नलिन, काम गर्न सक्ने हुनुहोस् ।

TATA ADD