काठमाडौँ, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिंगापुर पुगेका उनि १५ दिनपछि शुक्रबार स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सभामुख कृष्ण बहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत पार्टीका अन्य नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलमा उपस्थित भएका संचारकर्मीहरुलाई भने प्रधानमन्त्री ओलीले कुनैपनि प्रतिक्रिया दिएनन् ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी रहेका थिए । त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि सिंगापुर पुगेका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम पनि प्रधानमन्त्री संगै फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।
उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे छलफल गरेका थिए ।