धादिङ, १९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका २६ वर्षिय राजु परियार दिनभर निर्माणको काम गर्थे ।
मिस्त्रीको काम गर्ने उनी विहिबार साँझ काम गरेर घर फर्कदै थिए । बाटोमा ६५ वर्षिय सोमबहादुर गुरुङ मदिरा पिएर बसिरहेका रहेछन् ।
राजुले सोमबहादुरलाई सोधे, ‘यति राति कता हिँडेको बाबै ?’ सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले ।
‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हाने ।
कुटाई खाएपछि राजु सरासर घर गए र झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए । त्यसपछि उनले गुरुङमाथि खुर्पा प्रहार गरि हत्या गरे ।
हत्यापछि उनी राती करिब ११ बजे साङकोषको खाल्चेतबाट हिँडेरै जिल्ला प्रहरी कार्यालयमा आए । झोलामा रहेको सोमबहादुरको टाउको देखाएर मैले हत्या गरेँ मलाई कारबाही गर्नुस् भन्दै प्रहरी समक्ष आत्म समर्पण गरे
जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी इन्सपेक्टर सरोज राईका अनुसार प्रहरीले राजुको शुरुवाती बयानको आधारमा घटनास्थलको मुचुल्का तयार पारी शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङ पुर्याउँदै छ ।