‘फिनसेन लिक’ : स्ट्याण्डर्ड चार्टर्ड बैंक मार्फत सबैधन्दा धेरै कालो धनको कारोबार !

‘फिनसेन लिक’ :  स्ट्याण्डर्ड चार्टर्ड  बैंक मार्फत सबैधन्दा धेरै कालो धनको कारोबार !

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको  खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।

आइसिआइजेले गरेको अध्ययन अनुसार नेपालमा सबैभन्दा धेरै कालोधनको कारोबार गर्ने बैंक बनेको छ–स्ट्याण्डर्ड चार्टर्ड ।


‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी रकम ल्याउने र लैजाने शंकास्पद कारोबार र ओसारपसारमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । त्यस्तो कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ । कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ ।

ग्राहक– १, रौनियार

यो बैंकमार्फत सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१२ मिनाबजार पर्सा, मेनरोडका दुई कम्पनीहरू छन् । एक, रौनियार ब्रदर्स एण्ड कम्पनी । दोस्रो, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायण जी रौनियार र उनका चार छोराहरू– श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ ।

दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुको नाममा मात्रै दर्ता छ । शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार हुन् । जो धेरैजसो दुबईमा बसोबास गर्छन् । उनको प्रमुख योजनामा दुबईकै ‘काइट इन्टरनेशनल’, ‘एफजेई’ र अन्य विभिन्न सिपिङ कम्पनीहरू (जहाजमार्फत सामान ओसारपसार गर्ने कम्पनी) मार्फत शंकास्पद कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ । दुबईको ‘काइट इन्टरनेशनल’ कम्पनीले अलकत्र, सवारी साधनमा प्रयोग हुने मोविल, लुब्रिकेन्ट लगायत तेल, रबर प्रोसेसिङ ओइल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ ।

दुबईका यी शंकास्पद कम्पनीहरू मार्फत रौनियार परिवारले नेपालमा अलकत्र र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो ।

रौनियारका उल्लिखित दुई कम्पनीहरूले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक काठमाडौंबाट पटक–पटक प्रतितपत्र खोलेका छन् । यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबई लगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ ।

फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ । रौनियारको कम्पनीले अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकबाट सामान ल्याएको तर कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार गरेको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ ।

त्यसको उदाहरण २८ सेप्टेम्बर २०१० र १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्म भएका कारोबारहरू हुन् । २८ सेप्टेम्बर २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुबईस्थित काइट कम्पनीबाट २ लाख २५ हजार अमेरिकी डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्र खरीद गर्न प्रकाशकुमार रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो ।

उक्त ‘अर्डर’ अनुसारका सामानहरू २८ सेप्टेम्बर २०१० मा ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ पानीजहाज कम्पनीमार्फत जिबुउटी र बहराइन पुर्‍याइएको थियो । जुन सामग्री ‘फर्नेस ओइल’ रहेको विवरणमा उल्लेख छ । त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन् ।

ती कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो । यो कम्पनीहरूका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था इन्टरनेशनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो ।

उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुद्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ । उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चार पटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पार्‍यो । तर, कागजपत्र चाहिं ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो । यस आधारमा ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो ।

सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले पनि इरानलाई उच्च जोखिमको दोस्रो नम्बरमा राखेको छ । पहिलो उत्तर कोरिया हो । उनीहरु सम्पत्ति शुद्धीकरणको मामिलामा उदार भएकाले एफएटिएफले राखेको उक्त सूचीलाई चलनचल्तिको भाषामा ‘कालोसूची’ पनि भनिन्छ ।

नेपाल पनि एफएटीएफको सदस्य राष्ट्र रहेकाले उक्त ‘उच्च जोखिमयुक्त’ मुलुकहरूमा कारोबार गर्न नहुने प्रमुख दायित्व रहन्छ । यसबारे जानकार एक सरकारी अधिकारीले भने, “जुन मुलुकबाट औषधी, खाद्यान्न लगायत केही अत्यावश्यक सामाग्रीहरु भन्दा बाहेकको आर्थिक कारोबार यो मुलुकबाट नेपालले पनि गर्न पाउदैन ।”

‘काइट’ को वेबसाइटमा उल्लेख भए अनुसार, यो एक कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो, जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति रहेको छ । काइटको वेबसाइटमा भएको विवरण अनुसार, यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना शुरू गरेको’ छ । तर नेपालका सरकारी अधिकारीहरू ‘काइट’ ले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन् ।

यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेल मार्फत प्रतिक्रिया लिन खोजेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

उल्लिखित दुई कम्पनीका सञ्चालक मध्येका एक नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए । “अहिले कम्पनी छैन, चार पाँच वर्ष जति भयो होला बन्द भइसक्यो” उनले भने, “पहिले अलकत्रको काम गथ्र्यौं, अहिले गर्दैनौं ।” फिनसेनले भनेको कारोबारमा संलग्न मुख्य व्यक्ति उनका छोरा प्रकाशकुमार रौनियार हुन् । उनी युएईमा रहेका कारण उनको फोन नम्बर र इमेल प्राप्त हुन सकेन ।

ग्राहक– २, दाना डेरी ग्रुप लिमिटेड

‘फिनसेन’ का अनुसार, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हुँदै स्वीट्जरल्याण्डमा रकम पठाएर शंकास्पद कारोबार गर्ने अर्को ग्राहक हो– दाना डेरी ग्रुप लिमिटेड । ७ अप्रिल २०१५ मा २७ हजार ६७२ अमेरिकी डलर (रु.३२ लाख ९२ हजार ८६८) स्ट्याण्डर्ड चार्टर्ड बैंक काठमाडौंले दाना डेरी ग्रुप लिमिटेड, स्वीट्जरल्याण्डलाई पठाएको देखिन्छ । उक्त रकममध्ये २७ हजार ११२ अमेरिकी डलर (रु.३२ लाख २६ हजार ३२८) मात्रै २८ जुलाई २०१५ मा दानाले स्वीट्जरल्याण्डमा प्राप्त ग¥यो । दाना डेरीले दुग्धजन्य पदार्थको उत्पादन, खरीद, बिक्री र वितरण लगायतको काम गर्छ ।

दाना डेरीको वेबसाइटमा उल्लेख भएअनुसार, १६ देशमा यसका उत्पादन कारखाना छन् । यसले नेपालसहित ५६ मुलुकमा आफ्ना उत्पादन निर्यात गर्छ । नेपालबाट कसले र किन यो पैसा स्वीट्जरल्याण्ड पठायो भन्ने विवरण चाहिं खुल्न सकेन ।

बैंकको कारोबार तथा कम्पनीहरूको संलग्नताबारे स्ट्याण्डर्ड चार्टर्ड बैंकका ‘ब्रान्ड एण्ड मार्केटिङ हेड’ (कर्पोरेट अफेयर्स) प्रनु सिंहले आफूहरूले ‘फिनसेन’ को शंकास्पद कारोबार रिपोर्ट (सार) सम्बन्धी गोपनीयताको दायित्वलाई गम्भीर रूपमा लिएको बताइन् । उनले कुनै केस विशेषमा टिप्पणी गर्न नचाहेको पनि बताइन् ।

इमेलमार्फत उनले ‘सार’ प्रतिवेदन आफैंमा ग्राहक, बैंक वा अन्य कुनै संस्थाको गलत कामको प्रमाण नभएको दाबी गरिन् । “बैंकको जिम्मेवारी भनेको विश्वव्यापी वित्तीय प्रणालीको रक्षा गर्न प्रभावकारी अनुगमनको कार्यक्रम बनाउनु हो” उनले भनेकी छन्, “वित्तीय अपराध विरुद्ध लड्ने कामलाई हामी हाम्रो जिम्मेवारीका रूपमा लिन्छौं र शंकास्पद धन बारेको रिपोर्टिङ गर्ने कार्यक्रमका लागि पर्याप्त लगानी गर्छौं ।”

उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकले अनुगमन र अनुसन्धानको काममार्फत अपराधीलाई सजाय दिन योगदान पुर्‍याएको दाबी गरे पनि कम्पनी र कारोबारको विषयमा कुनै कुरा खुलाउन चाहिनन् । उल्लिखित कारोबारको विषयमा हामीले स्वीट्जरल्याण्डको दाना डेरी ग्रुपलाई इमेल मार्फत प्रतिक्रिया मागेका थियौं । उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

खोज पत्रकारिताा केन्द्रबाट साभार

Trending News