सुन तस्करी र अवैध कारोबारमा प्राइम बैंक र बैंक अफ काठमाडुको समलग्नता : ३ अर्ब लगानीको खुलाशा !

सुन तस्करी र अवैध कारोबारमा प्राइम बैंक र बैंक अफ काठमाडुको समलग्नता : ३ अर्ब लगानीको खुलाशा !

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको  खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।

अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’
(फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले .गरेको खुलाशा अनुसार नेपालका ठूला २ बैंकहरुले अवैध सुन कारोबारमा समेत लगानी गरेको पाइएको छ । काठमाडौंमा मुख्यालय रहेको क वर्गको प्राइम कमर्सियल बैंक र बैंक अफ काठमाडौंले यस्तो कारोबारमा समलग्नता देखाएका छन् ।

‘फिनसेन’ का अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८ बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पुर्‍याएको भेटिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भन्दै फिनसेनले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता टे«डिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) शंकास्पद कारोबार गरेका हुन् ।

सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ । सो रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूको सास्ताको खातामा रकम जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । तर दुई बैंकमा कति कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन ।

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीबाट बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ अमेरिकी डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ । बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो ।

फिनसेनले राखेको विवरण अनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ । नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ ।

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो । सन् २०१२ मा कालोटीले सुन खरीद गर्नका लागि ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । सो ‘लिक्स’ अनुसार, बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो ।

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको ‘फिनसेन फाइल्स’ ले खुलासा गरेको हो । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् ।

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष हुन् । उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने । त्यसपछि पटक पटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन् ।

उल्लिखित कारोबार बारे प्राइम बैंकका सूचना अधिकारी अमृत चरण श्रेष्ठले आफूहरूले राष्ट्र बैंकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए । “सास्ता कम्पनी हाम्रो बैंकको पुरानो ग्राहक हो । कम्पनीले हाम्रो बैंकबाट चाँदी आयातको एलसी प्रतितपत्र मात्रै खोल्छ । उसले अरू धेरै बैंकबाट पनि कारोबार गर्छ । शंकास्पद भए अन्ततिर होला” श्रेष्ठले भने, “हामीले राष्ट्र बैंकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन ।”

सास्ता संलग्न अर्को बैंक– बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले त धेरै कुरै गर्न चाहेनन् । उनले भने, “यसबारे मलाई केही जानकारी छैन । केही भयो भने म तपाईंलाई पछि कल गर्छु ।” यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ ।

बिओके र हिमालयन बैंक पनि

२० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजीमार्फत न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १२७.७९ अमेरिकी डलर (रु.१५ हजार २०७) रकम जम्मा भएको थियो । उक्त रकम नेपालको बैंक अफ काठमाण्डूमार्फत सुनिता शेर्पाले पाइन् । १४ डिसेम्बर २०१५ मा पनि तिनै बैंकहरूमार्फत सुनिताका नाममा ४२९.१० अमेरिकी डलर (रु.५१ हजार ६३) जम्मा भएको थियो । सोही दिन यही प्रक्रियाबाट ७१०.३१ अमेरिकी डलर (रु.८४ हजार ५२७) सुनिताको नाममा आयो । यसलाई पनि ‘फिनसेन’ ले शंकास्पद कारोबारको सूचीमा राखेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, सुनिताको नाममा ‘फेल्ट एण्ड यार्न प्रालि’ कम्पनी दर्ता छ । उनको यो कम्पनीका नाममा विभिन्न मितिमा हिमालयन बैंकमार्फत शंकास्पद रकम भित्रिएको देखिन्छ । ‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट हिमालयन बैंक, काठमाडौंमार्फत ‘फेल्ट एण्ड यार्न प्रालि’ ले फरक फरक मितिमा ९ हजार ९८५ अमेरिकी डलर (रु.११ लाख ८८ हजार २१५) आठ पटक प्राप्त गरेको छ ।

३० अक्टोबर २०१५, ९ नोभेम्बर २०१५, १६ नोभेम्बर २०१५, २० नोभेम्बर २०१५, १५ जनवरी २०१६, २० जनवरी २०१६, २२ जनवरी २०१६ र १ फेबु्रअरी २०१६ मा थप कुल ७९ हजार ८८० अमेरिकी डलर (रु.९५ लाख ५ हजार ७२०) नेपाल भित्रिएको हो । फिनसेनले ‘यो रकम शंकास्पद हुँदाहुँदै पनि बैंकले निगरानी र अस्वीकार गर्ने काम नगरेको’ भनेको छ । बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले यस सम्बन्धमा धेरै कुरै गर्न चाहेनन् ।

यो कारोबारमा संलग्न अर्को बैंक हिमालयन बैंकका सूचना अधिकारी सुशील जोशीले यसबारे भवानी घिमिरेसँग जानकारी भएकोले उनीसँग कुरा गर्न भने । घिमिरेले ‘केही पनि जानकारी नभएको र भए पनि ग्राहकको बारेमा भन्न नमिल्ने’ बताइन् ।

नेपाल रकम भित्र्याउने कम्पनीकी लगानीकर्ता सुनिता शेर्पाले शंकास्पद किन भनियो जानकारी नभएको बताइन् । “अमेरिकामा पनि हामीले कम्पनी खोलेर कारोबार गरिरहेका छौं । करदेखि सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेका हौं” उनले भनिन् । उनले बताए अनुसार कम्पनीले न्यूजिल्यान्डको भेडाको ऊन यहाँ ल्याएर पाँच हजार प्रकारका सामग्रीहरू बनाउने गर्छ । जुन विदेशमा बिक्री हुन्छ । उनले भनिन्, “हाम्रो १०० जनाको टिमले यो काम गर्छ । गत वर्ष हामीले रु.१५ करोडको कारोबार गरेका थियौं ।”

उल्लिखित कारोबारमा संलग्न जर्मनको कमर्ज बैंक एजीका प्रवक्ताले बैंकिङ गोपनीयता र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनका कारण आफ्ना ग्राहक र कारोबारको बारेमा टिप्पणी गर्न नचाहेको प्रतिक्रिया आईसीआईजेलाई दिएका थिए ।  

बैंक अफ काठमाण्डूको अर्को सहयोग

‘फिनसेन’ बाट प्राप्त विवरण केलाउँदा बैंक अफ काठमाण्डू (बिओके) ले नेपालको ‘ओमन्स पेपर क्राफ्ट कम्पनी’ को नाममा शंकास्पद रकम भित्र्याउन सहयोग गरेको देखिन्छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको देखिंदैन । तर पनि ६ र २० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट नेपालको बैंक अफ काठमाण्डू मार्फत सो कम्पनीले क्रमश ८७१.९९ अमेरिकी डलर (रु.१ लाख ३ हजार ७६७) र ७२४.६० अमेरिकी डलर (रु.८६ हजार २२७) प्राप्त गरेको थियो ।

३ डिसेम्बर २०१५ मा पनि सोही बैंकहरूको ‘रुट’ हुँदै ‘ओमन्स पेपर क्राफ्ट’ ले १ हजार १४६.५९ अमेरिकी डलर (रु.१ लाख ३६ हजार ४४४) प्राप्त गरेको देखिन्छ । उक्त कम्पनीले तिनै बैंकहरूमार्फत २२ डिसेम्बर २०१५ मा १ हजार १५२.८८ अमेरिकी डलर (रु.१ लाख ३७ हजार १९३) र ८ जनवरी २०१६ मा पनि ६२१.५२ अमेरिकी डलर (रु.७३ हजार ९६०) पाएको थियो ।

नेपालमा कुन कुन कम्पनी दर्ता भएको विवरण कम्पनी रजिष्ट्रार कार्यालयले वेबसाइटमा राख्छ । तर ओमन्स पेपर क्राफ्टबारे खोजी गर्दा वेबसाइटमा यो विवरण फेला परेन ।

खोज पत्रकारिता केन्द्रबाट साभार

Trending News