फेरी लकडाउन हुने खतरा !

दियो पोस्ट  

काठमाडौँ, असोज । कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ ।


विहिबारको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन्– मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ ।


प्रवक्ता गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बताउनु भयो । बैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको छ ।
थप एक हजार १७२ जनामा सङ्क्रमण


नेपालमा बुधबार थप एक हजार १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै बुधबार नेपालमा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रवक्ता गौतमले देशभर पाँच जिल्लाका एक महिला र छ पुरुष गरी सात जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो ।  

सिफारिस