काठमाडौं, ८ असोज । केही समययता जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई काठमाडौं स्थित राष्ट्रि ट्रमा सेन्टर लैजान भन्दै एक प्रहरी अधिकारीले जबरर्जस्ती अमानविय रुपमा निकालेको भिडियो सार्वजनिक भएको थियो ।
डा.केसीलाई गत मंगलबार नेपालगञ्जबाट काठमाडौं ल्याईएको थियो उनलाई ट्रमा सेन्टरबाट एक प्रहरी अधिकारीले जबरजस्ती तानिएको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनको चौतर्फी विरोध भइरहेको छ । उनीमाथिको व्यवहारलाई लिएर राष्ट्रिय पत्रपत्रिका तथा टेलिभिजनले समेत समाचार प्रकाशन गरेका थिए ।
भिडियोमा डाक्टर केसीले प्रतिरोध गरेको देखिन्छ । तर, उनको प्रतिरोध बर्दि लगाएको प्रहरी अघि निरर्थक जस्तो देखिन्छ । डा. केसीले ‘यो प्रहरीको गुण्डागर्दी हो ?’ भनेपछि प्रहरीका हाकिमले उनको मोबाइल खोस्छन् । त्यसपछि जबरजस्ती गाडीबाट बाहिर निकाल्छन् । ओली गुण्डागर्दी मुर्दावाद’ भन्दै प्रतिरोध गर्छन् तर प्रहरीले उनलाई एकोहोरो घिसारिरहन्छन् ।
यसरी अमानवीय रुपमा डा. केसीलाई गाडीबाट निकाल्ने व्यक्ति को हुन् भन्ने चासो आम मानिसमा भएपनि त्यसको उत्तर पाउन सकिएको थिएन । दियोपोस्टले प्रहरी स्रोतसँग सोधपुद्ध गर्दा ती प्रहरीको विषयमा जानकारी पाएको छ । यसरी डा. केसीलाई अमानवीय व्यबहार गर्ने व्यक्ति महानगरीय प्रहरी वृत गौशलामा कार्यरत प्रहरी नायव उपरिक्षक डिएसपी जितेन्द्र बस्नेत रहेको पाइएको छ ।
दियोपोस्टको सम्पर्कमा आएका बस्नेतले आफूले डा. केसीलाई पाखुरामा समाएर बाहिर निकालेको स्विकार गरे । ‘म त्यहीँ थिएँ । मैले नै डाक्टर सापलाई बाहिर निकालेको हुँ । उहाँलाई उपचारका लागि ट्रमा सेन्टरमा लाने भन्ने थियो । गाडीबाट झार्ने बेलामा उहाँलाई सम्झाई बुझाई गरिएको हो,’ उनले दियोपोस्टसँग भने,‘उहाँले नमानेपछि समातेर झारिएको हो । उहाँ टिचिङ नै जान खोज्नु भएको रहेछ । चेला चपेटा पनि धेरै हुने । हुन त उहाँको देशैभरी चेला चपेटा छन् ।’