बसन्त चौधरीको नर्भिक अस्पतालमा मजदुरहरुको रुवाबासी : रातारात निकालिए सयौँ मजदुर !

दियो पोस्ट  

काठमाडौं, १० असोज । राजधानीको थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत स्वास्थ्य श्रमिक मजदुरमाथि चरम अन्याय भएको पाइएको छ । अस्पताल व्यवस्थापनले अस्पतालमा कार्यरत तल्लोतहको कर्मचारीलाई जबरजस्ती जागिरबाट निकालेको पाइएको हो ।


अस्पताल व्यवस्थापनले नर्भिक अस्पताल स्थापनाकालदेखि नै सक्रिय रुपमा कार्यरत करिब ४ दर्जनभन्दा बढी कर्मचारीलाई अस्पतालले निकालेको पाइएको हो ।

अस्पतालमा सेक्युरिटी गार्ड, कर्मचारी र सरसफाईमा कार्यरत कर्मचारीलाई जबरजस्ती निकालेको पीडित मजदुरले बताएका छन् ।


अस्पताल स्रोतका अनुसार नर्भिक अस्पतालले डेढसय जनाभन्दा बढी नर्सहरुलाई बेतलबी बिदामा राखेको छ । तल्लो तहमा काम गर्ने मजदुरलाई जबरजस्ती निकालिएको छ ।

अस्पताल प्रशासनले बिनाकारण श्रमिकहरुलाई निश्कासन पत्रमा हस्ताक्षर गराएर निश्कासन गर्न गरेको पाइएको छ ।

‘साउन १ गते मेरो नाइट ड्युटी थियो । असार मसान्तको रातमा मलाई नर्भिक अस्पतालबाट फोन आयो । अब तपाईं भोलिदेखि काममा नआउनु भनियो,’ नर्भिक अस्पतालमा १३ वर्षदेखि हाउस किपिङ रहेकी एक महिलाले दियोपोस्टसँग भनिन्,‘हामीले नर्भिककै लागि जीवन दियौँ तर, यस्तो महामारीमा कामबाट निकाल्दा साह्रै दुख लागेको छ । परिवार कसरी पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको छ ।’


उनका अनुसार नर्भिक अस्पतालले उनलाई ३ वर्षअघि १० वर्ष सेवा गरेको भन्दै अवार्ड समेत दिएको थियो ।

‘हामी रोजीरोटी नै गरेर खान्छम् भन्यौँ र रिक्वेस्ट गर्यौँ । तर सुनुवाई भएन । बोल्ने मान्छेको काम हुने तर, हामी सोझा सिधाको कुरा सुनुवाई भएन । मेरो आर्थिक अवस्था कमजोर छ । मलाई झन जागिरको खाँचो छ । मेरो परिवारमा आमा विरामी हुनुहुन्छ । म पनि खट्टा भाँचिएको मान्छे । मैले बैसाखी टेकेरै ४ वटा वार्डसम्म काम गरेँ,’ उनले भनिन्,‘सरकारी नियम लगाएर हाम्रो तलबममा भ्याट, राजश्व काट्ने तर, हामीलाई जबरजस्ती निकाल्दा केही दिनुपर्दैन ? हामीले त्यहाँ गलत भएको विषयमा आवाज उठायौँ भने जो कसैलाई पनि निकाल्ने गरेको छ ।’

पीडित कर्मचारीहरुले आफूहरुलाई जबरजस्ती व्यवस्थापनले निकालेको भन्दै विभिन्न निकायमा उजुरी समेत गरेका छन् । उनीहरुले नर्भिकमै रहेको युनियनमा समेत उजुरी गरेको भएपनि केही सुनुवाई नभएको उनीहरुको गुनासो छ ।


‘हामी युनियनमा गयौं । उहाँहरुले हामीलाई कानुनको किताब पढेर सुनाउनुभयो । कोरोना भरीको ३ महिना प्रतिदिन १२ घण्टा काम गर्यौँ । उसिनेको चाउचाउ खाएर हामीले काम गर्यौँ । एक पैसा लिएनौँ । एक महिनाको तलब दिनुभयो । त्यसपछि असारसम्म आधा तलबमा काम गर्यौं । साउन लागेपछि हामीलाई जबरजस्ती हटाइयो,’ पीडित कर्मचारी भन्छिन्,‘युनियनको मान्छेले हामीलाई आश देखाए एक महिनासम्म भौँतारियौँ । तर, अहिलेसम्म न्याय पाएनौँ । हामी फर्कियौँ भने काममा टर्चर गर्छ । हामीलाई एक एक वर्षको करारमा राखिएको थियो । अहिले हामीले निकालेको भन्ने कुनै कागजात पनि दिएको छैन ।’

अस्पताल स्रोतका अनुसार नर्भिकले डेढ सय जना नर्सहरुलाई बेतलबी विदामा राखेको छ । त्यस्तै सेक्युरिटि गार्ड, मार्केटिङका कर्मचारी, प्रशासनका कर्मचारीहरु चार दर्जनभन्दा बढीलाई जबरजस्ती कामबाट निकालेको छ ।

सुपरभाइजर तहमा कार्यरत रहिसकेका एक पीडित कर्मचारीका अनुसार नर्भिकले उनलाई चार वर्षदेखि काममा लगायो । तर, अहिले भने विभिन्न झूटो आरोप लगाएर उनलाई अस्पतालले निकालेको छ ।

‘म सुपरभाइजर हुँ । असार मसान्तसम्म हामीले काम गरेका थियौँ । म ४ वर्षदेखि यहाँ कार्यरत छु । विभिन्न गलत आरोप लगाएर निकालेको छ । मैले रेस्पेक्ट गरिन भनेर मलाई हटाएको छ । यस्तो पनि हुन्छ र,’ उनी भन्छिन्,‘मलाई हटाइएको चिठी दिएको छैन । दुई महिना आधा मात्रै थियो । दैनिक १२ घण्टा गरेका थियौँ । करारमा काम गरेको हुँ । वर्षमा करार नविकरण गरिएको थियो ।’
उनका अनुसार हाउस किपिङमा कार्यरत १० जना कर्मचारीले जागिरबाट हात धुनुपरेको छ ।


आन्दोलनको घोषणा गरेका छौँ : प्रेम गिरी


अखिल नेपाल स्वास्थ्य श्रमिक संघ नर्भिक इकाईका अध्यक्ष प्रेम गिरिले भने कोही पनि कर्मचारीलाई अस्पतालले जागिरबाट निष्काशन नगरेको भन्दै अस्पतालकै पक्षपोषण गरे ।

‘अहिले २० देखि २५ जना विरामी हुनुहुन्छ । यस्तो अवस्थामा देशै समस्यामा छ,’ गिरीले भने,‘तर हामी कर्मचारी कटौती हुन दिन्नौँ ।’ उनले आफूहरुले कर्मचारी कटौती रोक्न व्यवस्थापनलाई ज्ञापन पत्र नै बुझाएको समेत दाबी गरे । ती ज्ञापन पत्र र सम्झौता के हुन मिडियालाई दिनुस् भन्दा उनले अहिले दिन नमिल्ने बताए ।


नेपालका एक मात्रै डलर अर्बपति व्यापारी विनोद चौधरीका भाई बसन्त कुमार चौधरीको स्वामित्व रहेको यो अस्पतालले कोरोना लागेका विरामीलाई भने चर्को शुल्क असुल्दै आएको छ । १४ दिन आइसोलेशनमा बस्दा डेढ लाख हाराहारी असुल्ने नर्भिक अस्पतालले कर्मचारीमाथि भने चरम शोषण गरेको छ । त्यति मात्रै होइन विदेशबाट नेपाल आउने पदयात्री पर्यटकलाई समेत यो अस्पतालले चरम ठगी गर्दै आएको छ ।

आफूलाई महान कवि र विश्व काव्य यात्रीको रुपमा चिनाउन रुचाउने चौधरीकै अस्पतालमा तल्लो तहका कर्मचारी रुवाबासी भएको छ ।

मजदुर निकालिएको विषयमा प्रतिक्रिया लिन नर्भिक अस्पतालका अध्यक्ष चौधरीको नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर