सिताराम हाछेथुको नियुक्ती विवादमा, कानुनको ठाडो उलंघन गरेर नियुक्त दिएको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, १२ असोज । ललितपुर महानगरपालिकाले सीताराम हाछेथुलाई गरेको वरिष्ठ निरीक्षक पदको ठाडो नियुक्ति विवादको घेरामा तानिएको छ । महानगरपालिकाले हाछेथुलाई गत भदौ १४ गते नगर प्रहरी बल र दमकल शाखाको प्रमुख भई २०७८ असार मसान्तसम्म काम गर्न करारमा नियुक्त गरिएको थियो । उनको नियुक्ति स्थानीय सरकार सञ्चालन ऐन २०७४ को खिलाफमा देखिएको छ ।


महानगरपालिकाले उनलाई नियमावलीमा हुंँदै नभएको पद सिर्जना गरी खुल्ला प्रतिस्पर्धा नै नगरी आफूखुसी ठाडो नियुक्ति गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ उपदफा ८ मा यसबारे स्पष्ट लेखिएको छ । यो दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए पनि गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सुरक्षा कार्यालय सहयोगी, प्लम्बर, चौकीदार, इलेक्ट्रिसियन, माली, बगैँचा तथा सरसफाइसम्बन्धी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनुपर्नेछ ।


सोबाहेक अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नपाइने भनिएको छ । आवश्यक कर्मचारीको दरबन्दी सिर्जना नगरी नियमविपरीत करारमा भर्ना गरिएको कर्मचारीको हकमा त्यसको सम्पूर्ण जिम्मेवारी नियुक्ति गर्ने व्यक्ति नै हुने भएकाले अहिले हाछेथुको नियुक्ति विवादको घेरामा तानिएको हो ।