काठमाडौं, १२ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीमण्डल फेरबदललाई लिएर पटक पटक वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार र सोमबार भएका विभिन्न छलफलपछि पनि अध्यक्षद्वयबीच कुनै ठोस सहमति बन्न सकेको छैन ।
नेकपाका अध्यक्ष प्राण्डले उपाध्यक्ष तथा केहीदिनअघि मात्रै राष्ट्रिय सभा सदस्यमा मनोनित वामदेव गौतमलाई मन्त्री बनाउन ताहेका छन् । तर, प्रधानमन्त्री ओली गौतमलाई रोक्ने भरपुर प्रयासमा लागेका छन् । गौतम विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।
प्रधानमन्त्री ओलीको कार्याशैलीलाई लिएर प्रचण्ड र माधव नेपाल समुहले केही महिनाअघि देखि ओलीको राजिनामा मागेका थिए । तर, कार्यदल बनेपछि मन्त्रीमण्डल हेरफेर लगायत विषयमा सहमति जुटेपछि ओलीको राजिनामाको च्याप्टर तत्काललाई क्लोज भएको थियो ।
आइतबार भएको नेता अध्यक्षद्वयको वार्तापछि मन्त्रीमण्डलर हेरफेरबारे टुङ्गो लगाउने अपेक्षा गरिएको थियो । तर, सोमबार दिउँसो समेत भएको बैठकले पनि कुनै टुङ्गो लगाउन नसकेपछि नेकपाको शिर्ष नेताबीचको विवादे फेरी बल्झिने हो की भन्ने आशंका बढेको छ ।
यद्धपी ओली र दाहालबीच केही नेताहरुलाई मन्त्री बनाउने विषयमा भने चर्चा चलेको छ । स्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेल मन्त्री बन्ने दौडमा छन् । उनको नाम समेत नेताद्वयको बीचमा छलफलको विषय बनेको छ ।
स्रोतका अनुसार स्थायी समिति सदस्यहरु भिम रावल, बेदुराम भुसाल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेनद्र पौडेल, सोम प्रसाद पाण्डे, प्रभु साह, विरोध खतिवडा, गणेश ठगुन्ना र गोपी अछामीलाई मन्त्री बनाउने विषयमा छलफल चलेको छ ।
प्रधानमन्त्री ओली हाल उनको मन्त्रिमण्डलमा रहेका मन्त्रीलाई पोर्टफूलियो परिवर्तन गरेर आफुसँगै राख्न चाहन्छन् । उच्च स्रोतका अनुसार प्रचण्डले जनार्दन शर्मालाई गृहमन्त्री बनाउन दबाव दिएका छन् । त्यस्तै सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी पनि पूर्व माओवादी समुहलाई दिनुपर्ने अडान उनको छ ।
प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापा बादल, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री युवराज ज्ञवालीलाई नै मन्त्रीमा दोहोर्याउन चाहान्छन् ।
स्रोतका अनुसार पूर्व माओवादीबाट उर्जा मन्त्री वर्षमान पुन अनन्त र खानेपानी तथा सरसफाई मन्त्री बिना मगर दोहोरिने संभावना प्रबल छ । त्यस्तै माधव नेपाल समुहबाट पर्यटन मन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसाल दोहोरिने संभावना छ ।
२५ जनाभन्दा बढीको मन्त्रीमण्डल बनाउँदा नेपालको संविधान विपरित हुने भएपछि ओली प्रचण्ड थप सकसमा छन् । खासगरि मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि उनीहरुलाई सकस परेको छ ।
प्रधानमन्त्री ओली सबैको चित्त बुझाउन ३ वटा मन्त्रालय थप्ने तयारी गरेको समेत स्रोत बताउँछ । २४ वटा मन्त्रालय भए १० वटा मन्त्रालय पूर्व माओवादी केन्द्रले पाउनुपर्ने अडान प्रचण्डको छ । हाल पूर्व माओवादीबाट ७ जना मन्त्री रहेका छन् ।