२ अर्ब ३४ करोड महशुल नतिर्ने शिबम् सिमेन्टद्वारा कुलमान घिसिङ विरुद्ध दुष्प्रचार

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र १६, २०७८ | २०:०७:२४

काठमाडौं, १६ भदौ । हेटौंडामा रहेको शिबम् सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरण हेटौंडालाई २ अर्ब ३४ करोड रुपैयाँ महशुल तिरेको छैन । तर, विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले उक्त महशुल तिर्न भन्दै २ महिना अघि पत्र पठाएको घटनालाई शिवम सिमेन्टले अतिरञ्जना गरेको पाइएको छ ।


प्राधिकरणको हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरका अनुसार २ महिना अघि २ अर्ब ३४ करोड रुपैयाँ विजुलीको रकम तिर्न भन्दै पत्र पठाइएको थियो । सोही पत्र पठाएको विषयलाई शिवम् सिमेन्टले आफूहरुलाई प्राधिकरणले धम्की दिएको भन्दै विज्ञप्ति निकालेको छ ।

हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत महशुल तिरेको छैन ।


डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको हो । सर्वसाधरणलाई १८ घण्टा लोडसेडिङमा राखेर शिवम सिमेन्टले डेडिकेटेड फिडरको नाममा विद्युत प्रयोग गर्दै आएको थियो ।

तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले यस्ता उद्योगलाई विजुली दिएर सर्वसाधरणलाई अन्धकारमा राख्ने गलत कार्य गरेका थिए । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि यस्ता उद्योगलाई दिएको थप सुविधा कटौती गरेर सर्वसाधरणलाई विजुली उपलब्ध गराउँदै नेपालबाट लोडसेडिङ हटाइएको थियो ।

तर, शिवम् सिमेन्टले विद्युत प्राधिकरणका हालका नेतृत्व घिसिङलाई नै बद्नामी गर्ने गरि विज्ञप्ति निकालेको छ । बुधबार प्रकाशित एक दैनिक पत्रिकाको पहिलो पृष्ठमै विज्ञप्तिको नाममा विज्ञापन प्रकाशन गरेर शिवम् सिमेन्टले प्राधिकरणले धम्की दिएको आरोप लगाएको छ ।


लोडसेडिङ कालमा आफूहरुका कारण समेत लोडसेडिङ भएको आरोप प्राधिकरणले लगाएको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खबर