काठमाडौं, १७ भदौ । निकै तामझाम सहित सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्र बाबु राई ठगीमा मुछिएका छन् । उनीद्वारा सञ्चालित नेटवर्किङ कम्पनि नेचर हब्र्सले ठगी गरेको खुलेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेर कागजात जफत गरेको छ ।
बस्तुको प्रत्यक्ष विक्रीको नाममा नेटवर्किङ व्यावसाय गरिरहेको खुलेपछि नेचर हब्सको नाममा ठगी गर्दै आएका गीतेन्द्र बाबु राई भनिने जिबि राईले रातारात शेयर नामसारी गरेको समेत खुलेको छ ।
उनी अध्यक्ष रहेको नेचर हब्सबारे विभागले छानबीन गर्दा उनको नाममा रहेको ९० हजार कित्ता शेयर कुमार रम्तेललाई दिएका छन् । राई र रम्तेल दुबै नेटवर्किङ व्यावसायको आवरणमा ठगी गरेपछि कारबाहीमा परेको हर्बो ईन्टरनेश्नलसँग जोडिएका व्यक्ति हुन् । उनीहरुले हर्बोकै शैलीमा नेचर हब इन्टरनेश्नल मार्फत ठगी गर्दै आएको विभागले जनाएको छ । विभाग स्रोतका अनुसार राई अहिले विभागको सम्पर्कमा छैनन् ।
उपभोक्ता हित संरक्षण विभागले २०७७ असार १७ गते उनीहरुलाई अनुमति दिएको थियो । बस्तुको प्रत्यक्ष विक्रीको अनुमति पाएपनि नेटवर्किङ व्यावसाय गरेको विभागको ठहर छ ।
नेचर हबको १० हजार कित्ता शेयरका मालिक पूर्व डिआइजी छविलाल जोशीले राम बहादुर खनाललाई विक्री गरेका छन् । डिआइजी जोशी तत्कालिन काठमाडौं प्रहरी प्रमुख हुँदा नै हर्बोको नाममा ठगीधन्दा मौलाएको थियो । उनले कारबाही गर्नुको सट्टा बार्गेनिङ गरेर शेयर हत्याएको स्रोतको दाबी छ । जोशी समेत ग्यालेक्सी फोरके टेलिभिजनमा शेयर सदस्य छन् ।
नेचर हब्सले पिरामिड शैलीको ठगी धन्दा चलाएको भन्दै विभागले गत साउनमै स्पष्टिकरण सोधेको थियो । उच्च राजनीतिक पहुँचका कारण नेचर हबमाथिको छानबीन नै प्रभावित भएको थियो ।
टेलिभिजनमा कालोधन लगानीको आशंका !
यसैबीच उनी अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क प्रा.लीद्वारा सञ्चालित ग्यालेक्सी फोरके नामक टेलिभजनमा कालो धनको लगानी भएको आशंका बढेको छ । राईले नेटवर्किङ व्यावासायको आवरणमा जम्मा गरेको कालोधन अबैध माध्यमबाट नेपाल भित्र्याएर टेलिभिजनमा लगानी गरेको उच्च स्रोतले दियोपोस्टलाई जानकारी दियो । ‘टेलिभिजनमा लगानी नै अपारदर्शी छ ।
कहाँबाट कसरी पैसा ल्याएर सञ्चालन भएको भन्ने नै छैन । तर, अर्बौं लगानी गरिएको छ । यो सबै नेटवर्किङको आवरणमा विभिन्न मुलुकमा चलाएको कालोधन्दाको पैसा हो,’ उच्च स्रोतले भन्यो,‘केही प्रभावशाली सञ्चारकर्मीलाई मिडियामा ल्याएर धन्दाको ढाकछोप गर्ने क्रियाकलाप हो ।’
राईले नेपाल बाहिर मलेशिया, सिंगापुर, कतार, भारत हङकङसहित ८ वटा मुलुकमा अवैध रुपमा नेटवर्किङ व्यावसाय चलाउँदै आएका छन् ।