२ लाख घुस प्रकरणमा मुछिइन् कलंकीकी वडाध्यक्ष शोभा सापकोटा, अख्तियारले छानबीन गर्दै !

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र २२, २०७८ | १४:०७:१८

काठमाडौं, २२ भदौ । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य बसन्त महर्जन घुससहित पक्राउ परे । उनले २ लाख घुस मागेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरि मोही प्रमाण पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि भन्दै सेवा ग्राहीबाट २ लाख रुपैयाँ घुस लिएका थिए ।

उनलाई सोमबार अख्तियारले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार टोलीले उनलाई खसिबजारस्थित वडा कार्यालय नजिकै रहेको न्यु कान्तिपुर तन्दूरी भोजनालयबाट नियन्त्रणमा लिइएको हो ।


हाल अख्तियारको हिरासतमा रहेका महर्जनले बयानका क्रममा वडाध्यक्ष शोभा सापकोटाको समेत नाम लिएको विशेष स्रोतले जनाएको छ । महर्जनले यत्तिका रकम माग्न हिम्मत नगर्ने र जग्गाको काममा वडा सदस्यको भन्दा पनि वडाध्यक्षकै सिफारिस लाग्ने भएकाले सापकोटालाई नै अनुसन्धानमा ल्याउन महर्जनले बयानमा उल्लेख गरेका छन् ।

स्रोतका अनुसार महर्जनलाई सापकोटाले नै घुस डिल गर्न पठाएकी थिइन् । तर, अख्तियारले उनलाई पक्राउ गरेपछि वडाध्यक्ष सापकोटा तनावमा परेकी छिन् । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित उनी यतिबेला केपी ओली अध्यक्ष रहेको नेकपा एमालेमै छिन् ।


घुसमा उनको नाम समेत पोलिएपछि सापकोटाको नम्बरमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले फोन उठाइनन् ।

सम्बन्धित खबर