कोभिड १९ मापदण्ड उल्लंघन गर्दै ठूला नेताको घर घरमा एमसीसीकी उपाध्यक्ष फातिमा !

दियो पोस्ट  

काठमाडौं, २६ भदौ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र’ गठन गरेको थियो । सोही केन्द्रको निर्णय अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरुका लागि विशेष मापदण्ड तय भएको छ ।

जसलाई ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी आदेश, २०७८’ भनिएको छ । उक्त आदेश अनुसार वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका मजदुरले पनि नेपाल फर्कदा त्रिभुवन विमानस्थलमा पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाएपनि सरकारले तोकेको महँगो होटलमा १० दिनसम्म क्वारेन्टाइन बसेर मात्रै घर फर्कन पाउने छन् ।


त्यति मात्रै होइन नेपाल घुम्न आउने विदेशी पर्यटकले दास्रो मात्राको खोप लगाएको भएपनि १० दिनसम्म क्वारेन्टाइनमा बस्नै पर्ने बाध्यकारी नियम छ । आदेशको दफा ६ ले नेपाल आउने कुटनीतिक कर्मचारीलाई समेत १० दिनसम्म क्वारेन्टाइनमा बसेर कोभिड १९ को रिपोर्ट नेगेटिभ आएपछि मात्रै नियमित गतिविधिमा सहभागी हुन पाउने व्यवस्था छ । तर, विहिबार अर्थात भदौ २४ मा नेपाल आएकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार सहितको टोलीलाई सरकारले यो मापदण्ड लगाएन ।

२४ गते नेपाल भित्रिएकी उनले आउने वित्तिकै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिन् । उनले उक्त भेटमा एमसीसी पास गर्न ओलीको भूमिकाबारे प्रश्न गरिन् । जवाफमा ओलीले आफूले एमसीसी पास गर्न चाहेको तर सभामुख र सरकारले संसदमा पेश नगरको बताए ।


त्यस्तै उनले सोही दिन जसपाका संयोजक बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलाई मात्रै होइन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि भेटिन् । भोलीपल्ट उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटिन् । प्रधानमन्त्री देउवा आफै भने सिसिएमसीका अध्यक्ष समेत हुन् ।


सामान्य मजदुरलाई १० दिन होटल क्वारेन्टाइनमा राख्ने सरकारले सिसिएमसीका उपाध्यक्षलाई भने क्वारेन्टाइनमा समेत नराखेर दोहोरो निती अपनाएको विश्लेषण हुन थालेको छ ।


सिसिएमसीका प्रवक्ता नुरहरी खतिवडाले सिसिएमसीले जारी गरेको उक्त आदेश व्यक्ति अनुसार फरक हुने बताए । यद्धपी सिसिएमसीले जारी गरेको आदेश अन्य नागरिकलाई भने लागु हुने उनले बताए ।


‘यो नियम बाध्यकारी हो । तर, डबलडोज भ्याक्सिन लगाएको मान्छेलाई छुट पनि छ । त्यहाँ व्यवहारमा मात्रै हो । होम क्वारेन्टाइनमा राख्ने भनिएको छ । खोप नलगाएको मान्छेलाई जस्तो छैन । होटलमै बस्नु पर्दैन भन्ने हो । तर मान्छेहरुको बुझाई त्यही हो । होम क्वारेन्टिनमा जानु भनेपछि सबैले क्वारेन्टाइनमा बस्दैनन्,’ खतिवडा भन्छन्,‘त्यसलाई नर्मल्ली लिएको छ । तर नियम बस्नुपर्ने नै हो ।’


एमसीसीको उपाध्यक्षलाई किन उक्त आदेश कार्यन्वयन भएन भन्ने दियोपोस्टको प्रश्नमा खतिवडाले भने,‘त्यसमा परराष्ट्र मन्त्रालयले छुट्टै प्रबन्ध गरेको छ । कुटनीतिक नियोगका पदाधिकारी अथवा विदेशी संघ संस्थामा काम गर्ने कर्मचारीको हकमा परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा आउने वित्तिकै सिधै कार्यक्रममा सहभागी हुने व्यवस्था गरिएको छ । त्यसमा परराष्ट्रले छुट्टै आदेश जारी गरेको छ । यो नियम समय अनुसार फरक हुने हो । व्यक्ति अनुसार फरक भन्न पनि सकियो ।’


उनले सिसिएमसीले जारी गरेको यो आदेश पुनरावलोकन गर्नु पर्ने समय आएको समेत औँल्याए ।