संसदमा पाखुरा टोक्ने एमाले सांसद थापाको धम्की, ‘त्यो मर्यादा पालकलाई के गर्नुपर्छ गर्छु’

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र २७, २०७८ | १४:४२:५५

काठमाडौं, २६ भदौ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा मर्यादा पालकलाई टोक्ने नेकपा एमालेको सांसद लाल बहादुर थापाले आफूद्वारा टोकिएका मर्यादा पालकको खोजी गरेका छन् । दियोपोस्ट डटकमसँग कुरा गर्दै सांसद थापाले मर्यादा पालक को हो त्यो सँग बसेर कुराकानी गर्न चाहेको बताए ।


‘ती मान्छे को हुन् मैले ती मर्यादा पालकलाई चिन्दा पनि चिन्दिनँ । उसले अहिले यसो गर्यो उसो गर्यो भन्दै मर्यादा भन्दा बाहिर गएको मैले बुझ्छु । त्यो मान्छेको फोटो चाहियो मलाई । त्यसलाई मैले छलफल गराउनुपर्छ कहाँ गराउनुपर्छ,’ थापाको धम्की छ,‘उसले त आफ्नो चेन बनाएर बस्ने हो । उसले माननीयको लकेट समातेपछि मैले आफ्नो मर्यादा भन्दा बाहिर जाने भन्दै हात खोसेँ । पछाडीतिरबाट क्यामेराले उ गर्यो होला । सबैभन्दा बढी प्रजातन्त्रकी लोकतन्त्र भन्ने पत्रकारलाई नै लागेको छ । त्यो मर्यादा पालक को हो त्यसलाई मलाई चिनाउनुस् म के गर्नुपर्छ गर्छु ।’
बजुराबाट निर्वाचित एमाले सांसद थापाले प्रकाशित तस्विर समेत नक्कली रहेको आरोप लगाएका छन् । कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित उक्त तस्विरमा उनले मर्यादा पालकको पाखुरामा टोकेको देख्न सकिन्छ ।


‘हामीले एक जना मान्छेलाई माथि चढाउन खोजेका थियौँ । उसले (मर्यादा पालकले) माननीयको ब्याचमै समातेर उ गर्यो । लकेटमा समात्ने हो भन्दै मैले उसको हात खोसेको हो । म दाँतले टोक्छु ? कस्तो कुरा गरेको हो ?,’ दियोपोस्टसँगको कुराकानीमा थापाले भने,‘नजिकै थियो । पछाडी बाटा फोटो खिच्दा त्यस्तो देखिएको होला । क्यामेराको कमाल होला ।’


पाखुरामा टोकेको विषयमा सांसद थापालाई सम्पर्क गर्दा उनले ती मर्यादा पालकलाई चिनाइदिन र भेटेरै छलफल गर्ने बताए ।
थापाले अन्य देशमा सभामुखको टाउको समेत काटिएको उदाहरण दिए ।


सांसद थापाले पटक पटक उक्त मर्यादा पालक को हो भन्दै उनको नम्बर र फोटो समेत मागे ।


‘पार्टीले निष्काशन गरेको मान्छेहरुलाई सदन भित्र किन उपस्थित गरायो । एमालेले आफ्नो मुद्दा कानुन संम्बत ढंगले उठाएको छ । त्यसमा क्यामेराले कसरी फोटा खिच्यो । के गर्यो । अनि को हुन् ती मर्यादा पालक मलाई राम्रोसँग चिनाउनुस् । मलाई नम्बर दिनुस् । फोटो हेरे म चिन्छु । तपाईंहरुले भन्नु न । उसले आफ्नो मर्यादामा बस्न परेन,’ उनले भने,‘उनीहरुले फोटो कसरी खिच्यो । सदनमा ननिदाएको मान्छेलाई निदाएको बनाइदिन्छन् । एकाको टाउको अर्कोमा गर्छन् । म एउटा केन्द्रीय सदस्य भएको मान्छे मर्यादा पालकलाई दाँती खानु जरुरत हुन्छ ?’


उनले मर्यादा पालकलाई मर्यादा पालक नभई कुनै पार्टीको कार्यकर्ता भएको समेत आरोप लगाए । ‘त्यो मान्छे मर्यादा पालक होइन । एक पटक त्यसलाई मसँग राम्रोसँग चिनाइदिनुस् । सचिवालयमा महासचिवको अगाडी राखेर म त्यसलाई छलफल गर्छु । तपाईंले भन्दिए हुन्छ को मान्छे हो त्यो । तपाईंसँग रहेछ ।’

उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा मर्यादा पालकलाई टोक्दै गरेको तस्विर फेला परेपनि पहिचान भने हुन सकेको थिएन । संसद सचिवालय स्रोतका अनुसार थापाले एक मर्यादा पालकको पाखुरामा टोकेका थिए । उनी हाप कोट र सर्ट लगाएर प्रतिनिधि सभा बैठकमा प्रवेश गरेको भिडियोमा देख्न सकिन्छ ।

शुक्रबारको बैठकमा महेश बस्नेत, निरु पाल लगायत पूर्व युवा संघका नेताहरुले चर्को नाराबाजी गरेका थिए ।

सांसद थापा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्न लागेपछि भने मर्यादा पालकको पाखुरामा टोकेको ती मर्यादा पालकको भनाई छ । सांसद थापाको टोकाईबाट पाखुरामा गम्भिर चोट लागेपनि कोटका कारण जोगिएको ती मर्यादा पालकले बताए ।

सभामुख अग्नि सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

सम्बन्धित खबर