छोरी मान्छेले माइतीमा बसेर बोलेको सुहाउँदैन !

ब्लग

diyopost.com
सुष्मा तिमिल्सिना
  आइतबार, भाद्र २७, २०७८ | २३:२३:१८

“तँ जन्मेको बर्ष गाउँमा म जस्तै पाँच महिलाहरू गर्भवती थिए । उनीहरुले छोरा नै छोरा पाउँदा तँ मात्र छोरी बनेर जन्मिएकी थिइस् । विभेदको पहिलो रूप तैले जन्मिदै भोगिसकेकी छस् छोरी ,” मेरी आमा अहिले यही भन्नुहुन्छ ।

समाजले हेर्ने आँखा जस्तो आमाको मन नहुँदो रहेछ ।

‘मैले त कहिले सोचिनँ तँ छोरी होस् कि छोरा यति सोच्छु तँ मेरो सन्तान होस् । मेरो प्राण होस् । तेरा दाई भाई जस्तै तँ पनि मेरो आँखाको नानी होस् । म छोरी हुँ भनेर आफूलाई कहिल्यै पराई नसोच् है,’ मेरी आमाका यी शब्दहरुले उर्जावान बनाउँछ ।


ती दिनहरू जतिबेला म दाईको हात समातेर स्कुल जाने गर्थे ।

एकदिन आफ्नो नाम लेख्न नजानेको भन्दै दाईले लौरोले हातमा पिट्नु भएको थियो रिसाएर दाई सँग कति दिन स्कूल जान नमान्दा आमाले मलाई बोकेर स्कूल नजिकै सम्म पुर्याउनु भएको थियो ।

एकदिनको घटना जब पढ्दा पढ्दै खै मलाई घरको याद आयो कि? म कसैलाई नभनी सुटुक्क स्कूलबाट निस्किएछु । झमझम पानी परिरहेको बेला, स्कूलबाट घर सम्मको दूरी थाहा नहुँदा म कुनै भीरमा पुगेर रुन थालेछु ।

आफ्नो चराउन छोडेकाे बाख्रो हराएको भन्दै कोहि यता पो आएको छ कि भनी खोज्दै हिड्दा उनले म रोएको आवाज सुनेछन् र मलाई घर सम्म बोकेर लगेछन् । तातो दूध खान दिदै मेरो घरमा खबर पुर्याएछन् । मलाई अहिले थोरै मात्र याद छ आमा र बा दुबै रुदै आउनु भएको थियो । अनि, बाले मलाई काँधमा राखेर घर लिएर जानु भएको थियो ।


म हुर्कदै गर्दा मेरो घरको आर्थिक अवस्था झन् खस्किदो थियो । बालाई दीर्घकालीन रोगले सताउन थाले देखि म, दाई र भाईको जिम्मेवारी आमाको काँधमा परेको थियो। तर कहिले उहाँले हामीलाई त्यो महसुस हुन दिनुभएन । भन्नुहुथ्यो- ” म बरू तिमीहरूलाई पछाडी बोकेर गिट्टी बालुवा कुटेर पाल्छु तर कसैको पैतालाको धूलाे पुछ्न बाध्य पार्ने छैन।” हामी आमा सँग झ्याम्मिदै खुब रुन्थ्याैँ। त्यो बेला देखि नै बा को जिम्मेवारी दाईले पूरा गर्न थाल्नु भयो ।


यसरी एउटा घरको मूल मान्छे नै रोगी र कमजोर भएपछि हामीलाई समाजले हेर्ने दृष्टीकाेण एकदमै तुच्छ थियो । गर्ने व्यवहार पनि उस्तै । हुन त अझै केही फेरिएको छैन । त्यो बेला खुब दु:ख लाग्थ्यो । आफ्ना रहर सपना कसैलाई सुनाउन नपाउँदा म धेरै छट्पटिन्थे । रुन्थें । आमालाई सुनाऊ उहाँ जिम्मेवारीले थिचिएर उठ्न सक्ने हालतमा हुनुहुन्न थियो । मलाई म जहाँ हुर्के त्यो समाज प्रति घृणा छ त्यसैले बन्द कोठालाई साथी बनाएर म कहिले देखि जानी नजानी साहित्य लेख्न थाले पत्तै पाइनँ । मलाई त्यसैले कहिले साथी बनाउने रहर भएन । यस्तो पनि लाग्थ्यो अरु कोहि नभए पनि एक्लै जिन्दगी कटाउन सक्छु । 


म पढ्दै जादाँ भाई पनि ठूलाे हुँदै गयो । दाईले पनि बाको जिम्मेवारी उठाउन थाल्नुभयो । अनि आमा हामीहरू बाट खुशी हुन थाल्नु भयो । त्यसपछि हो त्यो समाजले हामीलाई हेप्न छोडेकाे । म कतिपय बेला झगडा गरिदिन्थें – त्यो बेला मलाई उल्टै गाली गर्थे “छोरी मान्छेले माइतीमा बसेर बोलेको सुहाउँदैन ।”

एकपटक मैले यो भन्ने मान्छे लाई त्यही समाजको अघि बसेर म सँग माफी माग्न बाध्य समेत बनाको छु ।
मलाई जतिबेलै त्यो समाज बाट भाग्न मन हुन्थ्यो । फुत्किहालौ भन्ने लाग्थ्यो । जब मेरो प्लस टू सकियो त्यसपछि म त्यो ठाउँ बाट  स्वतन्त्रताको भारी बोकेर त उडें तर आइपुगे यस्तो शहर भित्र जहाँ पलपल निसास्सिएर बाँच्नु पर्छ ।

सडकका गल्लीहरूमा आँसु चुहाएर हिड्दै जीवनको अर्थ खोज्नु पर्छ । कसैको अनुहार हेर्न मन नलाग्दा झन् हजारौं अनुहार सँग ठाेकि्कनु पर्छ । आफ्नो पीडा, दु:खहरू शेयर गर्दा हेपिनु पर्छ । हरेक ठाउँमा निहुरिनु पर्छ । यो मृत शहरमा आफू जस्तैले बाहेक कसैले तपाईंलाई बुझ्ने छैनन् । स्वार्थी मान्छेहरूकाे भीडमा तपाईंको एउटा मनकारी मन हराउनेछु ।

तर यी सबै घटनालाई लिएर म कहिल्यै मन दुखाउँदिन । भीडमा एक्लै हुँदा पनि आफूलाई केही फरक पर्न नथालेपछि सोच्छु- संसारमा सबैभन्दा गाह्रो त आफैंलाई खुशी बनाउन छ । मलाई जिन्दगीले धेरै दु:ख दिदै छ त के भयो म झन् धेरै अनुभव बटुल्दै छु । झन् धेरै संङ्घर्ष गर्न सिक्दै छु ।  त्यसैले होला खुशी लाग्छ।

सम्बन्धित खबर