हामी गरिबलाई मात्रै किन लाग्छ यस्तो महंगो रोग ?

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २८, २०७८ | १७:५४:२३

मेरो नाम सुनिता बिक हो । अहिले म २५ वर्षकी भएँ । म अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–८, सिठेनीमा बस्छु । करिब ३ वर्ष पहिले मेरा दुबै मृगौला बिग्रिए । यस्तो प्राणघातक रोग लाग्दा समेत आर्थिक अभाव र गरिबीका कारण मैले बेलैमा उपचार पाइन । गरिबले बाँच्ने आशा गर्नु पनि ज्यादै महंगो पर्ने रहेछ । म उही निरिह आमा हुँ, जसले दुबै किड्नी गुमाएर मृत्युसंग लडिरहेकी छु । किड्नीसंगै यतीबेला आँखाको ज्योती पनि गुमेका छन् ।


‘लुफस मेटराइटिस’ भन्ने प्राण घातक रोगका कारण ३ वर्ष पहिले मेरा दुबै किड्नी बिग्रिएका हुन् । त्यतिबेलैदेखि बाँच्ने आशा मरिसकेको थियो । तर, नावालक २ छोराहरुको मायाले पनि मलाई तत्काल मर्न दिएन । उपचारका लागि पैसा नभएका कारण जीवनप्रतिको मोह पनि कतिन्जेल टिक्थ्यो र? मैले हारिसकेकी थिए ।


बाँच्ने आशा नै मरे पछि अरु के नै बाँकी रहन्छ र? बिस्तारामा छटपटाउँदै कैयौँ रात बिते । वास्तवमा म मृत्यु कुरेर बसेकी थिए । दिनहुँ पिसावबाट रगत बग्थ्यो । शरिर सुन्निएर उठ्न र बस्नै सक्दिनथेँ । शरिरभरि घाउ र खटिरा आएका थिए । घाउको दुखाई त छँदैथियो, त्यसमाथि घाउ पाकेर पीप बग्थ्यो । शरिर दुखेर खपि नसक्नु हुन्थ्यो । दुखाई र पीडाले मेरो दैनिकी निकै कष्टकर बन्यो ।


मर्न भन्दा पनि बाँच्न झनै गाह्रो रहेछ । बरु मर्न पाए पनि ज्यानले सुख पाउँथ्यो भन्ने लाग्थ्यो । भनेको बेलामा कहाँ प्राण जान्थ्यो र? यता मेरो श्रीमान भने मलाई बचाउँन दिन रात नभनी खटिरहनु भएको थियो । यद्यपी, उहाँ आफै पनि आँखा देख्नु हुन्न ।


मलाई दिन-दिनै रोगले च्याप्दै गए पछि साना नावालक छोराहरुलाई छिमेकीको जिम्मा लगाएर श्रीमानले मलाई उपचारका लागि भरतको नयाँ दिल्ली लिएर जानु भयो । वास्तवमा उहाँले मेरो उपचारका लागि कुनै कसर बाँकी राख्नु भएको थिएन । नेपाल र इन्डियाका नाम चलेका सबै अस्पताल धाउनु भयो । तर जहाँ गए पनि हामीसंग एउटै समस्या आईलाग्थ्यो । त्यो थियो पैसाको अभाव । गरिबलाई किन यती महंगो रोग लागेको होला? म मन मनै सोच्थेँ ।


पैसाको अभावमा मैले उपचार नपाएको र म छटपटाएको देखेर मेरो श्रीमान एक्लै रुनु हुन्थ्यो तर, मेरो अगाडी मुस्कुराउँदै मलाई निको हुने आशा जगाईदिनु हुन्थ्यो । उपचारका लागि पैसा नभए पछि भारतको नयाँ दिल्लीस्थित एक अस्पतालबाट पनि मलाई घर फर्काइयो । गाउँ फर्केपछि सिठेनीको सानो भुपडीमा म मृत्यु कुरेर बसेकी थिएँ । मेरा नावालक छोराहरुको मायाले पनि होला, मेरो छिटै प्राण गएन ।


म मृत्यु श्यैयामा छटपटाउँदैछु भन्ने हल्ला गाउँभरि चलेछ । मेरो बारेमा थाहा पाउनेहरु मलाई भेट्न घरमै आउँथे । कसैले सहयोगको अश्वासन पनि दिन्थे । कसैले २/४ पैसा दिएर पनि जान्थे । खेती गर्ने जमिन नभएका कारण रासन किनेर खानु पथ्र्यो । मेरो औषधी उपचार त परै जाओस, बिहान बेलुकाको हात मुख जोड्न समेत मुस्किल भइसकेको थियोे ।


मलाई रोग लागे पछि मेरो श्रीमानले मजदुरी गर्न छोड्नु भयो । किनकी मेरो हेरचाह गर्ने उहाँ बाहेक कोही थिएन । त्यसैले पनि उहाँ काम गर्न जान सक्नु भएन । काम नगरे पछि पैसा आउने ठाउँ पनि बन्द भयो । मेरो श्रीमानले आफुले चिने जतीसंग सहयोगका लागि हात जोड्नु भयो । तर, कतैबाट सहयोग नपाएर निरास हुनु हुन्थ्यो ।


मेरो अवस्थाबारे थाहा पाएर केही मिडियाका मान्छेहरु पनि घरमा आएका थिए । मेरो बारेमा मिडियाबाट समाचार प्रकाशित भएको रहेछ । त्यही समाचारका कारण आजसम्म म जिउँदैछु । आजसम्म मेरा छोराहरुले आमा भन्न पाएका छन् ।


कुरा दुई वर्षअघिको हो । मेरो श्रीमानले फोन मार्फत मेरो उपचारका लागि सहयोग गरिदिन कसैसंग आग्रह गर्नु भएको थियो । त्यसलगत्तै ‘अनलाईन खबर’ भन्ने पत्रिकाबाट मेरो अबस्थाका बारेमा कथा प्रकाशित भएछ । मेरो वास्तबिकताका बारेमा प्रकाशित उक्त समाचार तत्कालिन प्रधानमन्त्री निवाससम्म पुगेछ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले उक्त समाचार पढेर मेरो बारेमा थाहा पाएपछि निकै भावुक हुनु भयो रे भन्ने पनि सुने ।


त्यतीबेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक किड्नी ट्रान्सप्लान गर्दै हुनुहुँदो रहेछ । उहाँको उपचार सफल भए पछि प्रधानमन्त्री पत्नी राधिका शाक्य आफैले पहल गरेर मलाई काठमाडौँ बोलाउनु भयो । आफ्नै शिरमा मृत्यु बोकेर हिँडेकी मलाई उपचारका लागि बोलाइए पछि ‘बाँच्छु कि’ भन्ने आशा झनै बढेर आयो । मसंग खुसीको सिमा रहेन ।


एउटा समाचारकै कारण मैले सहयोग पाउँछु भन्ने सोँचेकै थिएन । तर, त्यही भयो, मैले प्रधानमन्त्री निवासबाट उपचार पाउने भएँ । यो मेरो लागि सबैभन्दा खुसीको कुरा थियो । त्यो सहयोग मेरो लागि संसारकै सबै भन्दा अमुल्य थियो ।


उपचारकै क्रममा म पहिलो पटक काठमाडौँ आए । काठमाडौँको बीर अस्पतालमा मेरो उपचार सुरु भयो । महंगो भए पनि उपचार सम्भव भएको डाक्टरहरुले बताए । म खुसीले गदगद् भए । डाक्टरहरु भगवान स्वरुप हुन्छन् भन्थे, वास्तवमै मलाई त्यस्तै लाग्यो ।


मेरो सबै रिपोर्ट हेरेर डाक्टरले मलाई दुई वर्षको समय दिनु भयो । २ वर्ष भित्रमा ‘लुफस मेटराइटिस’ नामक रोग निको भए पछि किड्नी ट्रान्सप्लान गर्ने कुरा भयो । इन्जेक्सनद्वारा हरेक महिना औषधी दिने र लुफस निको भए पछि अन्य उपचार गर्ने सल्लाह भए पछि केही औषधी दिएर मलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि म खुसी हुँदै घर फर्किए ।


बाँसका मुना जस्ता दुई छोराहरु हुर्कदैँ थिए । उनीहरु खेलेको, रमाएको र हाँसेको देख्दा मनमा खुसीको संचार हुन्थ्यो । म आफैलाई भाग्यमानी ठान्थे । किनकी, म जस्ता कैयौँ बिरामीहरु पैसाको अभावमा उपचार नपाएर मर्न बाध्य थिए । मलाई राज्यले खर्च गरेर उपचार गर्दै थियो । म जत्ति भाग्यमानी कोही छैन जस्तो लाग्यो ।

काठमाडौँबाट फर्के पछि मैले आफैले खाना पकाउने, घरको सामान्य काम गर्न सक्ने भएकी थिएँ । मलाई बुटबलमै उपचार गर्ने ब्यवस्था मिलाईएको थियो । त्यसपछि प्रत्येक महिना उपचारका लागि काठमाडौँ आउनु पर्ने झन्झटबाट मुक्त भएँ । करिब २ वर्षदेखि मैले राज्यकोषको सहयोगबाट उपचार पाएकी थिएँ । निशुल्क उपचारले मलाई निकै राहत मिलेको थियो । बाँच्ने आशा झनै बढेर आएको थियो । केही आत्मबिस्वास र केही उर्जा पनि थपिएको थियो ।


तर, त्यो आत्मबिस्वास र उर्जा धेरै समय टिकेन । मैले राज्यबाट पाउँदै आएको निशुल्क उपचार बन्द भयो । किन भन्द भयो? भन्ने नै थाहा भएन । पछि बुझ्दै जाँदा सरकार पविर्तन भएका कारण मैले पाउँदै आएको सहयोग रोकिएको रे । खै, नयाँ सरकारले मलाई सहयोग गर्न उचित ठानेन कि कतै ?


एउटा इन्जेक्सनका भरमा मेरो जिवन अडिएको थियो । तर, त्यो इन्जेक्सन समेत यतीबेला रोकिएको छ । यतिबेला म पूनः पहिलेकै अवस्थामा फर्किएकी छु । हालत पहिलेको भन्दा पनि झनै बिग्रिएको छ । किड्नी त पहिल्यै बिग्रिएका थिए । त्यसमाथि एक महिना यता मेरा दुबै आखाँको ज्योती गुमेको छ । यतीबेला मैले आँखा देख्दिन । जीवनको दृष्टि नै गुमे पछि जिउँदो लास बन्नु बाहेक कुनै बिकल्प नहुँदो रहेछ ।

छोराहरुको खुसी हेर्ने आँखा बन्द भए । उनीहरु खेलेको, रमाएको र रोएको हेर्न नपाएको पनि एक महिना बढी भईसक्यो । संसार अन्धकार छ । यो अन्धकार जीवनमा कहिले ज्योती फर्किने हो त्यो पनि थाहा छैन । म ओछ्यानमा लडिरहेकी छु । मेरा बच्चाहरू ‘आमा’ भन्दै वरिपरि झुम्मिन्छन् । तर, उनीहरुलाई देख्न सक्दिन ।


आँखा नदेख्ने भएपछि मलाई गाउँका मान्छेले खिसी गर्न थालेका छन् । ‘बुढा पनि आँखा देख्दैन, बुढी पनि अन्धी भई’ भनेर मलाई हेला गर्छन । किड्नी बिग्रिए पछि शरिरका अन्य पार्टपुर्जा पनि बिग्रिने रहेछन् । ‘मेरो भाग्य नै यस्तै रहेछ’ भनेर आफ्नै भाग्यलाई दोष दिएर बस्नु परेको छ । औषधी बिना म बिस्तारामा छटपटाउनु बाहेक मसंग अरु बिकल्प छैन ।


म बाँच्न चाहान्छु । छोराहरुलाई आफ्नै अगाडी हेर्न चाहान्छु । म बाँचेर छोराहरुलाई असल नागरिक बनाउनु छ । उनीहरुको सुन्दर भबिष्यको मार्गचित्र कोरिदिनु छ । कृपया मलाई बचाउनुस् ।

प्रस्तुती : रीता बुढाथोकी

सम्बन्धित खबर