ठगीमा पक्राउ परेका युथ फोर्सका कार्यकर्तालाई छुटाउन पूर्वप्रधानमन्त्री ओलीको दबाव !

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र ३१, २०७८ | ९:५९:१४

काठमाडौं, ३१ भदौ । जग्गा सम्बन्धी ठगी अभियोगमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युथ फोर्स नेपाल सुनसरीका पूर्वअध्यक्ष रुमेश कटुवाललाई छुटाउने चलखेल शुरु भएको छ ।

नेकपा एमालेका युवा नेता महेश बस्नेतको नाममा हप्ता असुली गर्ने कटुवाल युवा संघकै पूर्व अध्यक्ष निरु पालको धर्म भाई समेत हुन् । उनलाई केहीदिन अघि महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाले पक्राउ गरेको थियो ।
वास्तविक नाम रुसिल भएपनि रुमेश कटुवालको नाममा ठगी गर्दै आएका उनलाई जग्गा सम्बन्धी ठगीमा मुद्दा चल्ने भएपछि एमाले नेताहरुले चर्को दबाव दिएको स्रोतले जनाएको छ ।

एमाले नेताहरु महेश बस्नेत र निरु पालले कटुवाललाई छुटाउन प्रहरीका उच्च अधिकारीलाई दबाव दिएको पाइएको छ । स्रोतका अनुसार कटुवाललाई छाड्न एमाले अध्यक्ष केपी ओलीले समेत दबाव दिएका छन् । प्रधानमन्त्री केपी ओलीको भक्तिगान गाएर एआइजीमा बढुवा भएका विश्वराज पोखरेल समेत ठगी अभियोगमा पक्राउ परेका कटुवाललाई छुटाउन चलखेलमा लागेको आरोप छ । ओलीले आफू निकट एआईजीहरुलाई फोन गरेर कटुवाललाई छुटाउन निरन्तर दबाव दिएको स्रोतले जनाएको छ ।

 

उनलाई ठगी मुद्दामा पक्राउ गरिएको भएपनि प्रहरीले लेनदेन मुद्दालाई ‘ठगीमा’ रुपान्तरण गरेर प्रहरीले हेर्नै नमिल्ने मुद्दामा पक्राउ गरेको आरोप एमालेको नेताहरुको छ । उनीहरुले लेनदेन मुद्दा अदालतमा चल्नु पर्ने भएपनि ठगी मुद्दामा पक्राउ गरिएकाले तत्काल छाड्न दबाव दिएको पाइएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका ९ स्थायी भर भई काठमाडौंको वडा नम्बर ३२ मा बस्दै अँएका कटुवाल र मोरङको केराबारी गाउँपालिका वडा नमबर ६ स्थायी घर भई काठमाडौं बस्दै आएका धिरज कुमार दाहालले नुवाकोटको तारकेश्वर गाउँपालिका २ घर भई काठमाडौंको सुकेधारा बस्ने उद्धव प्रसाद अधिकारीलाई ठगी गरेका थिए ।

धिरजको नाममा रहेको मोरङको केराबारी गाविस वडा नम्बर ६ (क) को कित्ता नम्बर ६ सय ३८ को एक आना र कित्ता नम्बर ६४० को ७ आना २ पैसा जग्गा विक्री गर्नका लागि बैना बापत नेपाल इन्भेष्टमेन्ट बैंकको बत्तिस पुतली शाखाबाट ६८ लाख रुपैयाँ निकालेका थिए ।

तर जग्गा विक्री गर्नुको सट्टा सम्पर्क विहिन भएपछि पीडितले सोधी खोजी गर्न थाले । गत वर्ष असार २० गते मालपोत कार्यालय मोरङमा गएर बुझ्दा उक्त जग्गाहरु बिक्री भइसकेको पाइएको थियो । सोही ठगी अभियोगमा प्रहरीले रुसीललाई पक्राउ गरेको हो । अर्का ठग धिरजलाई भने खोजी कार्य भइरहेको अपराध महासाखाले बताएको छ ।

सम्बन्धित खबर