भोकालाई निशुल्क खाना खुवाउने मिलन भन्छन् : ‘बस् ! भोकाहरुको पेटमा पनि राज्य पुगोस् !’

diyopost.com
यशु सापकोटा
  शुक्रबार, आश्विन ०१, २०७८ | ०:५१:०८

नेपालको सबैभन्दा विकट जिल्लाहरु मध्येको एक जिल्ला हो – कालिकोट । कालिकोटबाट काठमाडौं आएका मिलन कुमार बोगटीको हातमा एकथान सर्टिफिकेट त थियो तर, रोजगारी थिएन । हातमा सिभिल ईन्जिनियरको सर्टिफिकेट बोकेर उनले यो शहरमा निकै चक्र लगाए । तर, रोजगारी पाएनन् । उनी विदेश भासिने सोचमा पुगे ।

‘जापान जाने योजना थियो । भाषा सिकेँ । भाषा पास भएँ । तर, दूर्भाग्य घरमा आमा विरामी हुनु भो,’ मिलनले आफ्नो पृष्ठभूमि सुनाए,‘ साथीहरु जापान गए । म जापान जान सकिनँ ।’ त्यसपछि मिलनको कठिनपूर्ण यात्रा शुरु भयो । कालिकोटको रुप्सा गाउँपालिकामा ५० को दशकमा जन्मिएका मिलनले बाल्यकाल पनि कष्टपूर्ण विताएका थिए । ‘खान लाउन कुनै दुख थिएन, जेनतेन गरेर आमाबाबुले खुवाएकै थिए तर पढ्नको लागिभने दुख थियो,’ उनी सम्झन्छन्,‘ऋण लिएर पढ्नु पर्थ्यो । आमाबाबुबाट टाढा बसेर पढ्नु पर्थ्यो । ती दिनहरु सम्झँदा नमिठो लाग्छ ।’

२०६५ सालमा सुर्खेत झरेका उनले सुर्खेतस्थित श्री कृष्ण संस्कृत माध्यामिक विद्यालयमा अध्ययन गर्न थाले । उनलाई सामाजिक सेवा भनेपछि शुरुमै चासो लाग्थ्यो ।आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग प्रदान गर्न उनी साथीहरुसँग हात थाप्थे । विद्यालयमै उनीहरुले क्लब बनाएका थिए । त्यहीँबाट मिलनले सामाजिक अभियानको शुरु गरे । तर, आर्थिक अभावका कारण उनी फेरी गृहजिल्ला कालिकोट फर्किए । कालिकोटबाटै उनले एसएलसी उतिर्ण गरे । माध्यमिक तहसम्म अध्ययन गर्न उनलाई कठिन थियो । तर, उनले अध्ययन गरेरै छाडे । अभावहरुको पहाड चढ्दै मिलनले डिप्लोमा ओभरसियर अटो मोबाइलबाट उत्तिर्ण अध्ययन गरे । ३ वर्षमै उनी उत्तिर्ण पनि भए । अनि सपनाहरुको शहर काठमाडौं आए । काठमाडौं यसै पनि लालचीहरुको सहर हो । हरके मान्छे आफ्नै लालचहरु बोकेर यो शहरमा आएको छ । ठूला महल, चिल्ला सडकमा गुड्ने हजारौँ गाडीहरु भन्दा यो शहरमा मानिसहरुको बोझ ठूलो छ । मानिसहरु त्यो ठूलो आफ्नै सपनाहरुले थिचिएका छन् । काठमाडौंले सबैले सोचे जस्तो सहज पनि छैन । उनी त्यही सर्टिफिकेटे देखाउँदै रोजगारी खोज्न हिँडे । तर, पाएनन् । सहरमा केही गर्न आएका उनी विदेश भासिने सोँचमा पुगे । हरियो पासपोर्ट बनाए । जापानी भाषा सिके । तर, साथीहरुको जापानको भिषा आउँदा मिलनको कानमा आफ्नी आमा गम्भिर विरामी परेको खबर आयो । उनी घर तिर फर्किए । आमाको उपचारमा लागे । उनका लागि आफ्ना सपनाहरु भन्दा जन्मदिने आमालाई बचाउनु ठूलो लाग्यो । ६ जना साथीहरु जापान पुग्दा मिलन भने आफ्नी आमालाई काखमा राखेर स्याहार सुस्याहारमा लागे । घर परिवार आमाको हेरचाहसँगै उनी नेपालमै सामाजिक कार्यमा जोडिन थाले । केही साथीहरुसंग मिलेर मध्य तथा सुदुरपश्चिम सम्पर्क समिति नामको समुह बन्यो । त्यो समुहको उद्धेश्य थियो,‘सांस्कृतिक पक्षहरुलाई जगेर्ना गर्नु ।’

“आफ्नो परम्परा , मौलिकता र आफ्नो पहिचानलाई जर्गेना गर्नको लागि यो गु्रपको निर्माण गरेका थियौं ,”उनले भने,‘हामीले आफ्नो मौलिकतालाई बिर्सदै गएका छौं र आफनो पहिचानलाई जोगाउन आफैंले पहल गर्नुपर्छ ।’
भौतिक सुख र सांसारिक जीवनका लागि आजका युवाहरु विदेश भासिँदैछन् । तर, मिलनलाई भने व्यक्तिगत सम्पत्ति जोड्नु छैन । व्यक्तिगत स्वार्थमा रमाउनु छैन । त्यसैले त उनी भन्छन्,‘मलाई व्यक्तिगत स्वार्थ छैन । मलाई मेरो गोजी भर्नुभन्दा पनि भोकाहरुको पेट भर्नु छ । त्यसैले काठमाडौंमा बस्र्दै गर्दा कालीकोट टेकनिकल गु्रप निर्माण गरेर हामीले आगलागि भएको ठाँउमा, बाढी पहिरो गएको ठाँउहरुमा सहयोग गर्यौं । विधालयबाट फन्ड उठाउने , मन्दिरहरुमा म्युजिकल टिम बनाएर प्रतिभा देखाउदै पैसा संकलन गरेर बिरामीहरुलाई सहयोग गर्ने कामहरु गरेका थियौं । हामीले दिनमा लगभग १५–२० हजार उठाउथ्यौं । विभिन्न कलेजहरुमा पुगेर रक्तदान कार्यक्रमहरु पनि गर्न थालेउ । अध्ययन गर्दैगर्दा केही गर्नुपर्छ भने साथीहरु संग जोडिएर पनि धेरै सामाजिक कामहरु गरेका छौं ।”

यसैबीच विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारी शुरु भयो । महामारीबाट नेपाल पनि अछूतो रहन सकेन । राज्यका ठूला र शक्तिशालीहरुका लागि रोग र महामारी केही नहुनसक्छ । तर, गरिब र निमुखाहरुका लागि रोग महामारी मात्रै होइन भोक र अनिकाल पनि हो । मुलुकमा लकडाउन भएपछि श्रम बजार बन्द भयो । भारी बोक्ने भरिया, निर्माण मजदुरहरु सडकमा भोकै भौँतारिनुको विकल्प थिएन । लकडाउनमा भोका पेटहरुको खोजीमा मिलन पनि अनिदो दौडन थाले । ‘लकडाउन अवधिमा पनि हामीले निःशुल्क खाना , कपडा बैंक जस्ता कामहरु गरेका थियौं । लकडाउनकै क्रममा पाँच सय जनालाई रगत उपल्बध गरायौं । बिरामी कुर्ने हेरचाह गर्ने त दैनिकी नै बनेको थियो । बागमती सरसफाई अभियान, सिरक डसानाहरु वितरण गर्ने, खाधन्न सामाग्रीहरु वितरण गर्ने , सम्पदा बचाउने अभियानदेखि लिएर धेरै कामहरु गरेका छौं,’ मिलनले सुनाए । लकडाउन अवधिमै जन्मियो–हाम्रो टिम नेपाल । यो संस्थाले थापाथलीदेखि सामुहिक निशुल्क भोजन गराउन थाल्यो । यही टिममा मिलन कोषाध्यक्ष छन् । मिलन समलग्न रहेको हाम्रो टिम नेपालले पछिल्लो समय बाढी पहिरोमा परेकाहरुका लागि समेत राहत लिएर देशका दुरदराजमा पुग्यो । अहिले यतिबेला मिलन एमसीसी विरुद्ध सडकमा छन् । साथै उनीहरुको टिमले विरामी कुरुवा घर निर्माण गर्दैछ ।

भोकाहरुको पेट भर्ने अभियानमा भने सरकारले हस्तक्षेप गरिदियो । सरकारी हस्तक्षेपकै कारण निशुल्क खाना कार्यक्रम अवरुद्ध भएको उनी सुनाउँछन् । ‘यो देशमा अभावकै कारण कसैले भोको बस्न नपरोस्,’ मिलन टुंग्याउँछन्,‘बस् भोकाहको पेटमा राज्य पुगोस् ।’

सम्बन्धित खबर