पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नै किर्ते सिफारिसको प्रमुख ‘मतियार’ !

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन १०, २०७८ | २३:४२:५६

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ‘किर्ते सिफारिस’ प्रकरणमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल फस्ने देखिएको छ ।

महासंघको लेटरप्याडको दुरुपयोग गर्दै बस्नेतलाई झूटो विवरण उल्लेख गरी सिफारिस गरिएको भन्दै पत्रकार महासंघ भित्र खैलाबैला मच्चिएको छ ।

काउन्सिल अध्यक्ष बस्नेत २०६० सालदेखि पत्रकार महासंघको सदस्यता लिएको भएपनि ५ वर्ष अघि नै पार्षद अर्थात सभासद रहेको भन्दै महासंघ अध्यक्ष विपुल पोखरेलले सिफारिस गरेका थिए । उक्त घटनामा पत्रकार महासंघका उच्च अधिकारीहरुले महासंघको लेटर प्याड दुरुपयोगमा अध्यक्ष पोखरेललाई नै कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।

यद्धपी यस विषयमा प्रतिक्रिया लिन महासंघ अध्यक्ष पोख्रेललाई सम्पर्क गर्दा उनले आफू काठमाडौं आउँदै गरेको र बाटोमा भएका कारण केही प्रतिक्रिया दिन नसक्ने बताए । ‘म अहिले बाटोमा छु । मलाई भोली फोन गर्नुस्,’ पोख्रेललाई हस्ताक्षरको विषयमा प्रश्न गर्दा उनले भने,‘हिजै किर्ते भनेर लेखिसक्नु भयो । अब मैले अहिले के बोल्नु । मलाई भोली सम्पर्क गर्नुस् ।’

यसैबीच दियोपोस्ट डटकममा ‘काउन्सिल अध्यक्ष बस्नेतले किर्ते सिफारिसका आधारमा नियुक्ती’ लिएको खुलाशा’शिर्षकमा समाचार प्रकाशित भएपछि महासंघको एउटा घटक प्रेस संगठन नेपालले उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक गरेको छ ।
आइतबार पेरिसडाँडामा आयोजित बैठकमा अध्यक्ष महेश्वर दाहालले ‘महासंघका अध्यक्ष पोखरेलले किर्ते गरेर नक्कली सिफारिस बनाएको हो भने पोखरेललाई कारबाही गर्नुपर्ने होइन बस्नेत आफैले किर्ते गरेको हो भने उनलाई कारबाही हुनुपर्ने अभिव्यक्ति दिएको एक केन्द्रीय सदस्यले बताए ।

दोलखाको भिमेश्वर नगरपालिका ५ स्थायी घर भएका बस्नेतलाई पत्रकार महासंघले २५ वर्षे पत्रकारिता अनुभव रहेको विवादास्पद र किर्ते सिफारिस गरेको फेला परेको थियो । उनलाई महासंघ अध्यक्ष विपुल पोखरेलले दिएको सिफारिसमा २०५५ सालमा केन्द्रीय सभासद ‘पार्षद’ रहेको र २०६८ सालमा केन्द्रीय समिति सदस्य रहेको उल्लेख गरिएको छ ।

तर, २०५५ सालमै पार्षद भएको भनेर सिफारिस गरिएका बस्नेतले नेपाल पत्रकार महासंघको सदस्यता भने २०६० साल साउन ९ गते लिएको रेकर्डमा देखिएको छ । अर्थात उनले पत्रकार महासंघको सदस्यता लिनुभन्दा ५ वर्षअघि नै सभासद ‘पार्षद’को परिचय पत्र पाइसकेका थिए । सदस्य नै नबनी पार्षद बन्नै नपाइने पत्रकार महासंघका उच्च अहोदामा बसेका पूर्व अधिकारीहरुको भनाई छ ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले २०७८ जेठ १० गते बस्नेतलाई ‘किर्ते’ सिफरिस दिएको देखिन्छ । जेठ २० मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

सम्बन्धित खबर