काठमाडौँ । सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गर्ने जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् । उनीहरूलाई आजै हटाउनेबारे प्रधानमन्त्री देउवाले परामर्श गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
जसपा बाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई देउवाले हटाउने तयारी गरेको हो ।
सत्ता गठबन्धन भन्दा बढी सिट दिने भनेपछि जसपाले एमालेसँग तालमेल गरेको थियो । गठबन्धन छोडेपछि जसपाका मन्त्रीहरूलाई हटाउने निर्णयमा प्रधानमन्त्री पुगेका हुन् ।
आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटार मा सत्ता गठबन्धन को बैठक बस्दै छ । अन्तिम समयमा सत्ता गठबन्धन छोडेर एमाले सँग चुनावी तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपालाई सरकार मै राखिरहने या हटाउने भन्ने बारेमा आज छलफल हुन्छ ।
त्यस्तै उम्मेदवारी फिर्ताको समय भोलिसम्म रहेकोले देशभर गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका हुलाई फिर्ता गर्न आह्वान गर्ने र नमिलेको र दोहोरो उम्मेदवारी परेका स्थानमा कसरी मिलाउने भन्ने बारेमा पनि छलफल हुनेछ ।
०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि सोही परिस्थिति आएको छ ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन । निर्वाचन आयोगका सह-प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने बताएका छन् ।