काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी गरेका छन् । सोमबार वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले सत्ता स्वार्थका लागि गठबन्धन नगरेको प्रष्टीकरण दिए ।
उनले भने, ‘हामी चुनौतीपूर्ण अवस्थामा छौँ । अहिलेसम्म ल्याएको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए। उपलब्धिलाई माटोमै मिलाउने प्रयास भयो । त्यसविरुद्ध हामीले संयुक्त आवाज उठाएर गठबन्धन गरेका छौँ । एमालेले गरेको गठबन्धन दलका अनुहार हेर्नुस् । र, हाम्रो गठबन्धनलाई हेर्नुस् । त्यहीँबाट सबै प्रष्ट हुन सकिन्छ । गठबन्धन सत्ताको लागि मात्रै होइन । जनताबाट प्राप्त अधिकार रक्षाका लागि हामीले गठबन्धन गरेका छौँ ।’
समाज रुपमान्तरणका लागि गठबन्धन गरेर चुनावमा गएको पौडेलको भनाइ थियो । व्यवस्था बदलिएपनि जनताको अवस्था बदलिन नसकेको उनको भनाइ छ । जुन पार्टीको भएपनि गठबन्धनको उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न निर्देशन दिए । मुलुकलाई राष्ट्रवादको मुकुन्डो लगाएर उपलब्धिमाथि आक्रमण गर्न लागेको बताए ।