एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।
विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रासम्पन्न भएको हो । तेह्रोँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवि विष्णु कुमार श्रेष्ठले बताउँछन् ।

ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ श्रेष्ठले बताएका छन् । । गुठियार, स्थानीयले भैंसीले सधै दुघ दिइरहोस् र पशुपालन ,व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गरिएको हो । ‘खासमा दही प्रसादको रुपमा बाँडिन्छ । तर सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ ,’उनले बताए।

हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा ,पूजा र बली बडादसैको फूलपातीबाट नै सुरु हुने गर्छ । विजयदशमीको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तिन वटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ ।