सम्झनामा महाकवि लक्ष्मी प्रसाद : विरासतले बनाएको महाकवि

दियोपोस्ट संवाददाता  

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । देवकोटाको जन्म विसं १९६६ सालको कार्तिक कृष्ण औंसीको दिन अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनका पिता तिलमाधव देवकोटाले आफ्ना पुत्रलाई शैक्षिक वातावरणमा हुर्काएका थिए । जानकारहरुका अनुसार पिताकै कारण उनी कविता र साहित्यमा सक्रिय भएका थिए ।

देवकोटाले काठमाडौँमा प्रारम्भिक शिक्षा प्राप्त गरिसकेपछि उच्च शिक्षा अध्ययनका लागि भारत पुगेका थिए । उनका अध्ययन र जीवनका अनुभवहरूले उनलाई बहुमुखी प्रतिभावान व्यक्ति बनाएको उनका निकटहरुले लेखेका छन् । महाकवि देवकोटाले थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता लेखेका थिए । उनका प्रमुख रचनाहरूमा ‘सूर्यको कुरा’, ‘मुनामदन’, र ’अशोकाको फूल’ समावेश छन् । विशेषगरी ‘मुनामदन’ खण्डकाव्य नेपाली साहित्यमा सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हरेक मान्छेमा जस्तै देवकोटाका जीवनमा अनेकौं संघर्षका पाटाहरू छन् । आर्थिक कठिनाइ, व्यक्तिगत विछोड जस्ता विषयहरूले उनलाई गहिरो रूपमा प्रभावित गरेको थियो । यी अनुभवहरूले उनका रचनामा गहिराई र यथार्थता ल्याएका थिए । उनले प्रेम, मृत्यु, अस्तित्व, र समाजका यथार्थतालाई संवेदनशीलताका साथ प्रस्तुत गरेका छन् । उनका कविताहरूले जीवनका दुःखद क्षणहरूको चित्रण गर्दा पनि आशा र सकारात्मकताको सन्देश दिन्छ ।

देवकोटाको साहित्यले मानव जीवनका गहिरा प्रश्नहरू उठाउँछन् र जीवन, संस्कृति, र प्राकृतिक सौन्दर्यको जीवित चित्रण गर्छ । उनका विचारहरूले नेपाली समाजलाई संवेदनशिल बनाउँछ ।
कुलतमा फसेका देवकोटा
देवकोटा जीवनकालभर धुम्रपान गर्थे । विसं २०१५ मा उनलाई क्यान्सर भएको थाहा भयो । भारतमा गरिएको उपचारमा ठूलो आन्द्राको ३ इञ्च निकाल्नु परेपछि उनले आफ्नो मृत्युको निकटता अनुभव गरे । क्यान्सरसँगको लामो सङ्घर्षपछि, महाकवि लक्ष्मीप्रसाद देवकोटाको विसं २०१६ भाद्र २९ मा निधन भयो ।
महाकवि देवकोटाले केवल कवितामा मात्रै होइन, नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनका विचार र दृष्टिकोणले पछिल्ला पुस्ताका लेखकहरूलाई प्रेरित गरेका छन् ।

सिफारिस