काठमाडौँ । तिहार अगावै फूल खरिद गर्ने ग्राहकको ‘दिनहुँ’ फोन कल आउन थालेपछि फूलले राम्रै बजार पाउनेमा रुपन्देही मणिग्रामका पुष्प ब्यवशायी इश्वरी भण्डारी ढुक्क छन् । हरेक वर्ष तिहार नजिकिँदै गर्दा आफ्नो बारीमा फुलेका सयपत्री फूलले बजार नपाउने हुन् कि भनेर चिन्ता गर्ने उनी यो वर्ष भने तिहार सुरु हुनु अगावै फूलको माग बढेको बताउँछन् ।
तिहारलाई लक्षित गरेर उनले डेड बिघा जमिनमा फूल खेती गरेका छन । यतिबेला उनको बारीमा सयपत्री जातका फूलहरु ढकमक्क फुलेका छन् । पछिल्ला वर्षहरुको तुलनामा फूलको माग बढी भएको उनी बताउँछन् । भन्छन्, ‘यो वर्ष फूलको माग बढी छ । त्यसैले पनि फूलले राम्रै बजार पाउँछ कि भन्ने आशा पलाएको छ ।’

अघिल्ला बर्षका तिहारमा नेपाली उपभोक्ताले भारतबाट आयातित फूल प्रयोग गर्ने भएकाले पनि आफुहरुले उत्पादन गरेका फूलले बजार नपाएको उनले बताए ।
‘भारतीय बजार सुनौली नजिकै छ । खुल्ला सिमाना भएकाले भारतीय फूल नेपाली बजारमा प्रशस्तै भित्रिन्थ्यो । धेरै मानिसहरु सुनौली पुगेरै फूल खरिद गरेर ल्याउँथे । तर, यसपाली ग्राहकहरु स्वदेशी फूल खोज्दै आएका छन्,’ उनले भने, ‘अबका वर्षमा फूलले बजार नपाउने हुन् कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन । नेपालीहरुले स्वदेशी फूल मन पराएका छन् ।’
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ‘ग्रिनजोन एग्रो फार्म’ संचालन गरेका उनले तिहारमा मात्रै फूल बिक्री गरेर कम्तीमा ५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् । भण्डारीले फूल उत्पादन गरेर रोजगारी सिर्जना र आत्मनिर्भर बन्न सकिने भएकाले फूल उत्पादनलाई जोड दिएको बताए ।
बिगतका वर्षहरुमा फूल बिक्री नभएर निराश हुनु परेको क्षण सम्झिँदै उनी भन्छन्, ‘अब चाँही हामी पुष्प ब्यवशायीहरु निराश हुनु पर्दैन । फूलको माग राम्रो छ । यस वर्ष हामीले फूलको मुल्य पनि भारतीय बजारको भन्दा कम गरेका छौँ । अबका वर्षहरुमा पनि स्वदेशी फूलको माग र ब्यापार राम्रो हुनेमा आशा पलाएको छ ।’

यता, रुपन्देही ढवाहका राजेश केसीले १२ कठ्ठा क्षेत्रफलमा फूल रोपेका छन् । उनको फार्ममा ‘कर्मा ५५५’ र ‘टेनिसबल’ जातका सयपत्री फूल ढकमक्क फुलिसकेका छन् । यो वर्षको तिहारमा ७ हजार ‘तयारी माला’ र १२ लाख रुपैैयाँ बराबरको ‘फूल’ बेच्ने उनको तयारी छ । भन्छन्, ‘पहिलेका वर्षहरुको तुलनामा यस वर्ष फूलको माग बढी छ । त्यसैले पनि फूलको ब्यापार राम्रो हुनेमा हामी आशावादी छौँ ।’
फूलसंगै तयारी मालाको समेत माग बढेकाले ‘लक्ष्मी पुजा’ र ‘भाई टिका’लाई लक्षित गरि उनले माला उन्न सुरु गरिसकेका छन् । उनको फार्ममा फूल टिप्ने र माला उन्ने काम ‘धमाधम’ भइरहेको छ । यसका लागि १६ जना स्थानीय महिलाहरुलाई दैनिक ज्याला दिएर काममा खटाइएको उनले बताए ।
भारतीय फूलहरु नेपाली बजारमा निर्वाध रुपमा बिक्री भई नेपाली फूलले बजार नपाएको बिगत सम्झिँदै उनी भन्छन्, ‘बिगतका वर्षहरुमा नेपालमै राम्रो उत्पादन हुँदा पनि भारतीय फूल ज्यादा बिक्रि भइरहेको थियो । हामीलाई आफ्नै स्वदेशी उत्पादन बिक्री गर्न कठिन थियो । तर, यसपाली भने नेपाली उपभोक्ता सचेत भएका छन् । नेपालमै उत्पादन भएको फूलको माग बढेको छ । हामी खुसी छौँ ।’

‘फोकस मल्टी एग्रो’ नामक कृषी फार्म समेत संचालन गर्दै आएका केसीले तिहारमा मात्रै दर्जानौ स्थानीयले प्रत्यक्ष रोजगारी पाएको बताए । ‘हामी बाह्रै महिना फूल उत्पादन गर्छौँ । हरेक पर्व, उत्सव, र कार्यक्रममा हामीकहाँ फूल उपलब्ध हुन्छ । यसकारण पनि फूल हाम्रो लागि रोजगारीको दरिलो माध्यम बनिसकेको छ ।’
तिहारमा रुपन्देहीमा मात्रै नभएर रुपन्देही आसपासका जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलबस्तुबाट समेत फूलको अर्डर भएको केसीको भनाई छ ।

बिगतका वर्षहरुमा भारतीय फूलले नेपालमा बजार पाएका कारण नेपाली किशान र फुल ब्यवशायीहरु मर्कामा परेको बताउँछन् ‘लुम्बिनी फ्लोरिकल्चर एसोसियसन नेपाल’ (लुफ्यान) का महासचिव जीवन भट्टराई ।
भारतीय फूलको तुलनामा नेपाली फूलको गुणस्तर उच्च भएपनि स्वदेशी फूलको प्रचार नभएका कारण बिगतका वर्षमा फूलको ब्यापार कम भएको उनको अनुभव छ ।
‘नेपाली बजारमा तिहारमा मात्रै होइन अन्य समयमा पनि फूलको माग बढ्दो छ । भारतीय फूलले नेपाली बजारलाइ प्रतिस्थापन गरेको छ । क्वालिटी चिन्न नसक्दा राम्रो हुँदा-हुँदै पनि स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । यसका लागि प्रचार-प्रचारको अवश्यकता छ,’ उनले भने ।
नेपाली फूलको गुणस्तर चिनेर स्वदेशी उत्पादन प्रयोग गर्न उनले आम उपभोक्तालाई सुझाब दिए । अर्थतन्त्र पनि सुधार र नेपाली उत्पादनको प्रवर्धनका लागि पनि स्वदेशी फूल प्रयोग गर्नु पर्ने उनको तर्क छ ।
स्थानीय निकाय तथा राज्यले पुष्प उत्पादक किशान तथा ब्यवशायीहरुलाई प्रोत्साहन गर्नु पर्ने उनको धारणा छ ।



