‘मन्त्री’ नबनाएको झोँकमा उपेन्द्र यादवको पुत्ला दहन !

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन २३, २०७८ | १४:४९:४६

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री मण्डल बिस्तार गरेका छन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र एकिकृत समाजवादी सम्मिलित छन् । तर सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपाल ‘जसपा’मा भने मन्त्री बन्न नपाउने नेताहरु असन्तुष्ट देखिएका छन् ।

आफूलाई मन्त्री नबनाएको भन्दै जसपाका केही नेता कार्यकर्ताले वीरगञ्जमा पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाएका छन् । प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको उनीहरुको आरोप छ ।

पर्साबाट मन्त्री बनाइनु पर्ने बिषयमा पहिलेदेखि नै पार्टीमा छलफल भए पनि पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो । यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी कार्यालयको साइनबोर्डसमेत झिकेर आगो लगाएका छन् ।

त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

सम्बन्धित खबर