बाँकेका एसपी अधिकारीलाई कारबाही गर्न २० दिन हिँडेर काठमाडौं आउने पीडितको माग

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन २५, २०७८ | १०:३६:४५

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) श्याम कृष्ण अधिकारी र डिएसपी मधु कुमार न्यौपाने विरुद्ध उजुरी परेको छ ।

नेपालगञ्जको बाँकेबाट २० दिनसम्म पैदलै हिँडेर न्याय माग्न काठमाडौं आइपुगेका १३ जनाभन्दा बढी पीडितहरुले अधिकारी र न्यौपानीलाई कारबाही माग गरेका हुन् ।

बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको भन्दै यी दुई प्रहरी अधिकारी विरुद्ध कारबाही गर्न गृहमन्त्रालयसमक्ष पीडितहरुले मागपत्र पेश गरेका छन् । आइतबार पीडितहरुले गृहमन्त्रीलाई सम्बोधन गरेर ६ बुँदे माग अघि सारेका छन् ।

पैदल यात्रा गरेर काठमाडौँं आएका उनीहरुले माइतीघरमा धर्ना समेत दिएका छन् । केहीदिन अघि प्रहरीले धर्नामा बसेका उनीहरुलाई अभद्र व्यावहार गर्दै पक्राउ गरेको थियो ।

न्यायका लागि काठमाडौं आएका उनीहरुमध्ये नकुन्नीका भाइ माताप्रसाद, बैनी शीला र परिवारका अन्य सदस्य सहित १३ जना छन् । उनीहरु मध्ये अधिकांशले नेपाली समेत बोल्दैनन् । उनीहरुको मातृ भाषा अवधी हो ।

गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । नकुन्नी दम्पत्तिको विवाह भएको ७ वर्षसम्म पनि सन्तान भएको थिएन । छोरा छोरी नभएपछि नकुन्नीका श्रीमानले दाईको छोरालाई गोद लिएका थिए । श्रीमान रामकुमारको पहिलो श्रीमतिबाट समेत एक सन्तान थियो । पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिए ।

घटनाका जानकारहरुका अनुसार यही विषयमा दुई जनाबीच विवाद भएको थियो । विवादले पछिल्लो समय हिंसाको रुप लिएको जानकारहरु बताउँछन् । श्रीमानबाट कुटिएपछि नकुन्नी शरिरमाा निलडामसहित एक हप्तासम्म माइतमा गएर बसेकी थिइन् । उनले आफूमाथि भएको हिंसाको जानकारी स्थानिय महिला अधिकार सञ्जाललाई समेत दिएकी थिइन् । संस्थाले नै बेभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीलाई अवगत गराएको थियो । तर, प्रहरीले घटनालाई गम्भिर रुपमा लिएन ।

न्याय माग्न जाँदा प्रहरीले नै चासो नदेखाएपछि गत साउनमा नकुन्नीले देह त्याग गरिन् । उनीहरुले घटनाको छानबीन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालय बाँके अगाडी समेत धर्ना बसेका थिए । प्रहरीले नै घटनालाई ढाकछोप गरेको पीडितको आरोप छ ।

पीडितहरुका अनुसार बााँकेमा गत वर्ष मंसिरदेखि निर्मला कुर्मी बेपत्ता छिन् । दुई छोरीको आमा निर्मलालाई किन र कसले बेपत्ता पार्यो भन्ने प्रहरीले हालसम्म कुनै अनुसन्धान थालेको छैन ।

कुर्मी हराएपछि उनका परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति पीडितहरुले चित्त बुझाएका छैनन् ।

 

सम्बन्धित खबर