काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि मुख्य कार्यालयको काउन्टर नै बन्द गरेको खुलेको छ । दशैं, तिहार र छट लगायत पर्व अघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्ताहरुलाई छठपछि मात्रै रकम फिर्ता दिने भन्दै आलटाल गरे पठाइएको थियो । छट सकिएको दुई वितेपछि आज मंगलबार पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय पुगेका दर्जनौँ बचतकर्ताहरुलाई फिर्ता पठाइएको छ ।
‘हामीलाई छठपछि बचत रकम फिर्ता लिन आउनु भनियो । हामी आज जाँदा काउन्टर नै बन्द भयो भने फिर्ता पठाइएको छ,’ एक सेवाग्राहीले दियोपोस्टसँग भने,‘सहकारीका सिइओ सुरेन्द्र भण्डारीलाई फोन गर्दा कहिल्यै फोन उठाउँदैनन् ।’
सहकारीको फोन नम्बरमा फोन गर्दा फोन उठाउने महिलाले आज सिस्टम विग्रेका कारण बचत रकम फिर्ता गर्न नसिएको बताइन् । ‘आज सिस्टम नै विग्रेका कारण काउन्टर बन्द भएको हो,’ ती महिलाले भनिन्,‘भोलीदेखि रकम फिर्ता हुन्छ ।’
सहकारीका प्रमुख कार्यकारी निर्देशक तथा सिइओ सुरेन्द्र भण्डारीले सहकारी टाट पल्टिएपछि विभिन्न क्षेत्रमा रहेको सहकारीको सम्पत्ति विक्रीमा राखेका छन् । केही सम्पत्ति विक्री भएपनि बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि उनी समेत सेवाग्राहीबाट सम्पर्क विहिन भएको स्रोतले जनाएको छ ।