बीबीसी । अमेरिकामा आसन्न संसदीय निर्वाचन नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्र्याट्सले चुनावी अभियानलाई व्यापक बनाएका छन् । मतदाताहरुलाई आफ्ना पक्षमा पार्नको लागि दुबैतर्फका नेता कार्यकर्ताहरुले कसरत गरिरहेका अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आठ हप्तापछि हुन लागेको अमेरिकी संसदीय निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको परिक्षणको रुपमा हेरिएको छ । ट्रम्प पनि आफु र आफ्नो पार्टीको छविमा गिरावट आउन नदिनको लागि लगातार अभियानमा लागेका छन् । जर्जियामा हुने चुनावी र्यालीलाई ट्रम्पले सम्वोधन गर्ने छन् । पुर्वराष्ट्रपति बाराक ओबामा भने इण्डियानामा डेमोक्र्याटिक पार्टीका सिनेटरहरुलाई समर्थन गरिरहेका छन् ।
रिपब्लिकन पार्टीका तर्फबाट उठेका उम्मेदवारका अनुसार मतदाता नामावली प्रणालीमा डेमोक्र्याटिक पार्टीले अनधिकृत रूपमा पहुँच स्थापित गर्नका लागि गरेको असफल प्रयासबारे जर्जियास्थित अधिकारीहरूले छानबिन गरिरहेका छन्।डेमोक्र्याटिक पार्टीका उम्मेदवारले चाहिँ सो छानबिनलाई विक्षिप्तु कदम भनेका छन्।
यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गरिसकेका छन्। चुनाव आउन आठ हप्ता बाँकी छँदा प्रतिबन्धसम्बन्धी नयाँ व्यवस्था गरिएको थियो।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले चुनावको निष्पक्षता सुनिश्चित गर्न पछिल्लो कदम चालिएको बताएका थिए। गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू हिंसात्मक रूपले उल्ट्याइने चेतावनी दिएका थिए।
अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो। ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्।