ओली सरकार पूर्ण रुपमा असफल, भ्रष्टाचार महामारीजस्तै फैलियो : सुजाता कोइराला

diyopost.com
Diyo post  बिहिबार, मंसिर ०६, २०७५ | १६:४०:५९

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याईएको छ।’
उनले वर्तमान सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको आरोप उनको छ । ‘म आफँै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ ।’ उनले भनिन्, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सिमा नै छैन् । साँच्चि भनेको मैले त कल्पना पनि गरेको थिईंन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’
आफूहरुले यसलाई गम्भिर भएर समाधान गर्न नसके मुलक गम्भिर समस्यामा जाने उनको चिन्ता छ । अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने बताउँदै आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको स्पष्टोक्ति दिइन् ।
उनले अहिलेपनि कांग्रेसका कोही पनि नेता तथा कार्यकर्ता निराशा बन्नुपर्ने अवस्था नरहेको जिकिर गरिन् ।
उनले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भैरहेको सुनाउँदै तर अहिलेपनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गरिन् । उनले भनिन्,‘हामीले निर्वाचनमा सिट कम ल्याएका हौं । तर, यही समय सँधै रहिरहन्छ भन्ने छैन् । जनताको बिचमा हाम्रो साथीहरु जानुहुन्छ । उहाँहरुले पार्टी बचाउनुहुन्छ भन्ने मलाई पूरा विश्वास छ । यदि कसैले प्रजातन्त्रलाई मास्छु, समाप्त पार्छु भन्ने सोचेको छ भने त्यो आँफै समाप्त हुन्छ । तर, देश समाप्त हुँदैन् । प्रजातन्त्र समाप्त हुँदैन् ।’

कांग्रेसको नेतृत्वमा कोइराला परिवारबाट शशांक कि शेखर भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्,‘त्यो अहिले म भन्न सक्दिन् । के हुन्छ ? कसरी हुन्छ ? भन्ने कुरा अहिले कसरी भन्ने ? यो त पछिको कुरा हो । अरु साथीहरुपनि हुनुहुन्छ । अहिले समय आएको छैन् । समय आएपछि उहाँहरु बस्नुहुन्छ । सल्लाह गर्नुहुन्छ । अहिले त संगठन गर्ने बेला हो । त्यसको लागि हामी अघि बढ्छौं ।’
त्यस्तै नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरिन् । उनले भनिन्,‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्याईरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’
आउने महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेद्धवारी दिन पार्टीभित्र मोर्चाबन्दी बन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भनिन्,‘सभापति बन्नको लागि अब सबैजनाको तयारी त भैरहेको छ नि । अरु पनि छन् । देउवामात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको ईच्छा छ सभापति बन्ने । त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ । अहिले देउवाजीलाई हराउने वा पछार्ने कुरा नगरौं । त्यो त्यही बेलाको कुरा हो । अहिले पार्टी बनाउने कुरा गरौं ।’
सभापति देउवाकै कारण पार्टी कमजोर बनेको आरोप लाउँदै उनले भनिन््,‘उहाँले गरेका केही गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनाबभन्दा अघि पनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुरदशा हामीले भोग्नुपरिरहेको छ ।’
उनले पार्टीको सिद्धान्त भनेको नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भएकोले यही सिद्धान्त टेकेर अघि बढ्यो भने अर्को चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउनेमा आफूलाई पूरा विश्वास रहेको पनि सुनाईन् ।

सम्बन्धित खबर