काठमाडौं, मंसिर १२ । पछिल्लो केही समययता कांग्रेसमा राजनीतिक र गुटगत ध्रुवीकरणमात्रै बढेको छैन, जसरी हुन्छ १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्ने रणनीति बनिरहेको छ । कांग्रेसमाथि आफूहरुको विरासतलाई देउवाले पल्ट्याइदिएपछि कोइराला परिवारको सक्रियतामा यसलाई पुनः ब्युत्याउन श्रृखलावद्ध छलफल भइरहेका छन् ।
देउवालाई अब हराइछाड्ने रणनीति अन्तर्गत कोइराला परिवारका तीन हस्तीहरुले असन्तुष्ट नेताहरुलाई मिलाउने गरी नियमित छलफल गरिरहेका छन् । मंगलबारमात्रै गिरिजापुत्री सुजाताले आफ्नो निवासमा सिनियरदेखि जुनियर सबै नेतालाई बोलाएर अब देउवाविरुद्ध मोर्चाबन्दी गरेर जानुपर्ने आफ्नो धारणा सुनाइन् ।
एक्लाएक्लै अघि बढेर देउवालाई परास्त गाह्रो हुने भन्दै सुजाताले देउवातिर रहेका राम्रा मान्छेसँग पनि हातेमालो गरेर जानुपर्ने बताएकी थिइन् । युवा नेताहरुलाई एक्लै नहिड्न आग्रह गर्दै सुजाताले सबै मिलेमात्र पार्टीमा देउवाको र सरकारमा केपी ओलीको शासनविरुद्ध दरिलो आवाज उठाउन सकिने बताएकी थिइन् ।
युवा नेताको उल्टै आरोप
युवा नेताहरुलाई आफूतिर आकर्षित गर्ने नियत राखेर छलफलमा बोलाइए पनि उनीहरुले उल्टै पुराना नेताहरुमा लोभी, पदका भोका, अवसरवादी रहेको भन्दै यस्ता प्रवृत्ति त्यागे मात्र एक भएर अघि बढ्न सकिने बताए ।
आज फेरि देउवाविरुद्ध जमघट
तीन दिन पौडेल र सिटौला पक्षको फरकमतका बाबजुद पनि नेपाली कांग्रेसको विधान मस्यौदा संसोधन समितिले विधानको मस्यौदा केन्द्रीय समितिमा पेश गरेको थियो । फरक मतलाई संयोजकले प्रतिवेदनमा उल्लेख गरेर विमति नरहेको सन्देश दिए पनि पदाधिकारी नबढाउने तर, केन्द्रीय सदस्य बढाउने, क्रियाशील सदस्य हटाउनेसहितका प्रावधानमा देउवाबाहेकका पक्षको असन्तुष्टि छ ।
दुई दिनसम्म छलफल गरेपछि अब मंसिर १३ गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्नेसहितको धारणा बनाउन आज महामन्त्री डा. शशांकको घरमा पौडेल र सिटौला पक्षको भेला बोलाइएको छ । पदाधिकारी नबढाउदाको सबैभन्दा घाटा भने पौडेल पक्षले नै बेहोर्नुपर्ने देखिन्छ । किनकी यो पक्षमा उपसभापति र महामन्त्रीमा व्यवस्थापन गर्नका लागि थुप्रै नेता लाइनमा छन् । यसकारण पनि यो पक्ष पदाधिकारी बढाउनुपर्ने पक्षमा छ ।
आखिर यो भेला किन त ? पौडेल सिटौला पक्षकै एक नेताको भनाई छ, ‘देउवाविरुद्ध हामी नै सक्रिय छौं भन्ने देखाउने र आफूहरुको विरासतलाई बल पुर्याउने नियतले कोइरालाहरु सक्रिय जस्तो देखिएका हुन् । तर, यसको मतलव अरुलाई स्थापित गराउन होइन आफैं स्थापित हुने दाउ उनीहरुमा देखिन्छ ।’
आज साढे बजेदेखि शशांकको टोखास्थित निवासमा पौडेल र सिटौला पक्षका सबै नेतालाई बोलाइएको छ । विधानका विषयमा छलफल गर्ने भनिए पनि महामन्त्रीले आफ्नो निवासमा यसरी गुटगत भेला बोलाएर सभापति देउवाविरुद्ध समानान्तर शैलीमा पार्टीमा हस्तक्षेपको संकेत पनि दिएका छन् । आफू सभापतीय प्रणालीमा विश्वास गर्ने र सभापतिलाई सहयोग गर्ने भन्दै आए पनि शशांकमा पनि १३ औं महाधिवेशनबाट सभापतिको उम्मेदवार हुने तीव्र इच्छा भने देखिन्छ । त्यसैले उनले पछिल्लो समय राजनीतिक सक्रियाता बढाएका छन् ।
अरु नेताले जस्तो देउवाविरुद्ध उनी आक्रामक छैनन । तर, सबैलाई मनाएर सबैको नेता हुन उनले खोजेको उनी निकट नेताहरु नै बताउँछन् ।