काठमाडौँ, मङ्सिर १४ । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । एशिया प्यासिफिक सम्मेलनमा भाग लिनको लागि विहीबार काठमाडौँ आइपुगेकी सुकीले शुक्रबार राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेकी हुन् ।
राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटमा दुईदेशविचको हित र सम्वन्धको बारेमा छलफल भएको छ । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओलीसंगको भेटमा पनि द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति रहेको थियो । आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ ।
सुकी एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा काठमाडौँ आएकी हुन् । सो सम्मेलन शनिबार काठमाडौँमा आयोजना हुँदैछ ।