आङसाङ सुकीको कारकेड माइक्रोसंग ठोक्किएपछि यसरी कुटिए माइक्रोचालक (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौँ, मंसिर १४ । विहीबार साँझ सामाजिक संजालमा एक भिडियो भाइरल भयो । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीको कारकेडमा खटिएको एक मोटरसाईकल त्रिपुरेश्वरमा दुर्घटनाग्रस्त भयो । उक्त मोटरसाईकल एक माइक्रोसंग ठोकिएर दुर्घटनाग्रस्त भएको हो ।

सामाजिक संजालमा मनोज श्रेष्ठले पोस्ट गरेको भिडियोमा दुर्घटनापछिको अवस्था देखाइएको छ । दुर्घटना भएपछि त्रिपुरेश्वरको माहोल तनावग्रस्त बनेको देखिन्छ । सुरक्षा निकायका अधिकारीहरु हतारहतार दुर्घटनास्थल तिर कुदिरहेका थिए भने केही उद्धारमा खटिएका थिए । प्रहरी सहायक निरिक्षक दिपेन्द्र गुरुङ उक्त दुर्घटनामा परि गम्भिर घाइते भए । उनलाई तुरुन्तै प्रहरी अस्पताल पुर्याइएको थियो तर त्यहाँबाट नर्भिक अस्पताल रिफर गरियो । यता ठक्कर दिने माइक्रोका ड्राइभरलाई कारकेटमा खटिएका प्रहरी अधिकारीले रामधुलाई गरिरहेका थिए । स्टेरिङबाट नझारी उनीमाथि गाडी भित्रै दुईजना प्रहरी अधिकारीहरुले मुक्का बर्साएको भिडियोमा देख्न सकिन्छ । शुरुमा एकजना प्रहरीले मुक्का हानेको देखिन्छ भने एकैछिनमा अर्का प्रहरी आई बाहीरैबाट मुक्का हानेको देखिन्छ । भिडियो अवधिभर करिब उक्त ड्राईभरको मुखमा १५ मुक्का सम्म परेको देख्न सकिन्छ ।

विपरित दिशातर्फबाट आउँदै गरेको माईक्रोले सुकीको कारकेटमा खटिएको मोटरसाईकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो । उक्त माइक्रोले लेन क्रस गरेर ठक्कर दिएको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी महाशाखाका अनुसार घाइते भएका गुरुङको अवस्था गम्भिर छ भने माइक्रो र ड्राइभर दुबै प्रहरी नियन्त्रणमा छ ।

सुरक्षाकर्मीले ड्राइभरमाथि गरेको मुक्काप्रहारको बारेमा भने महानगरिय प्रहरी महाशाखा अनभिज्ञ रहेको छ । भिडियो सार्वजनिक भएपछि भने अनुसन्धान गरि दोषीलाई कारवाही गर्ने बताएको छ ।

यस्तो छ भिडियो