उपराष्ट्रपति पुनसँग फिलिपिन्सकी समकक्षीको भेट, दुई देशबिचको सम्वन्ध अझै सुमधुर बनाउन जोड

दियो पोस्ट  

काठमाडौं, १४ मंसिर ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग फिलिपिन्सकी समकक्षी मारिया लेनोर जेरोना रोब्रेडोले शिष्टाचार भेट गरेका छन् । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी फिलिपिन्सकी उपराष्ट्रपतिले शुक्रबार दिउँसो उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपाली समकक्षीसँग शिष्टाचार भेट गरेका हुन् । समकक्षी बीचको भेटमा दुई देशको सम्बन्ध र सहकार्यको लगायतको बारेमा छलफल भएको छ ।
फिलिपिन्सका समकक्षीसंगको भेटमा उपराष्ट्रपति पुनले दुई देशबिचको सम्वन्धलाई अझै सुमधुर बनाउनुपर्ने बताए । ‘नेपाल र फिलिपिन्सबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको साठी वर्ष पुग्दैछ । पूर्वी दर्शनको मान्यता अनुसार साठी वर्ष अत्यन्त शुभ वर्ष हो’, उपराष्ट्रपति पुनल भने, ‘कुटनीतिक सम्बन्धको साठी वर्षले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने छ ।’

उपराष्ट्रपतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । उहाँले नेपालको आर्थिक समृद्धिका लागि फिलिपिन्ससँग सहकार्य चाहेको समेत बताए ।
‘हामी आर्थिक सामाजिक रुपान्तरण सहितको समुन्नत र समृद्ध नेपाल निर्माण अभियानमा छौँ । नेपालको विकास र समृद्धिका लागि हामी सबै मित्र राष्ट्रसँग सहकार्य गर्न चाहन्छौँ’, उनले भने, ‘नेपाल र फिलिपिन्स दुवै प्राकृतिक रुपमा सुन्दर मुलुक हुन्, दुई देशबीचको सहयोग र सहकार्य अझै फराकिलो बनाउनुपर्दछ ।’

भेटमा उपराष्ट्रपति पुनले नेपालले कृषिको आधुनिकीकरण, पर्यटनको विकास, जलविद्युत उत्पादन तथा विक्रि, जडिबुटीको प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणको माध्यामबाट समृद्धि हासिल गर्न खाजेको बताएका छन् । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको जानकारी गराउँदै त्यस अवसरमा नेपालको भ्रमणका लागि फिलिपिन्सका नागरिकहरुलाई आग्रह समेत गरे ।
नेपालका समकक्षीसँगको भेटमा फिलिपिन्सका उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्न पाउँदा आफूले गौरव महसुस गरेको बताएकी छिन् । उनले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै आउँदा दिनमा थप सुदृढ् हुने बताए । नेपाल र फिलिपिन्सबीच धेरै समानता रहेको चर्चा गर्दै उनले विकास र समृद्धिका लागि सहकार्य गर्नुपर्ने बताए ।