
काठमाडौं, २० कार्तिक । जिल्ला प्रहरी कार्यालय धादिङले जातिय छुवाछुत कुटपीटबाट पीडित बनेका एक व्यक्तिको जाहेरी लिन अस्विकार गरेको पाइएको छ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङ घर भएका २४ वर्षिय कञ्चन बसेलले आफूमाथि जातिय विभेद र कुटपीट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले पीडितको जाहेरी लिनुको सट्टा मेलमिलाप गर्न दबाव दिएको खुलेको छ ।
स्थानिय ५८ वर्षिय डम्बर बहादुर न्यौपानेले बसेलमाथि जातिय विभेद तथा छुवाछुत गरेको र कुटपीट समेत गरेको पीडितले बताएका छन् । गत कार्तिक २ गते आमा घरमा नभएको थाहा पाएपछि बसेल आमा खोज्न हिँडेका थिए । स्थानिय डम्बर न्यौपानेले सञ्चालन गरेको भट्टीमा मदिरा पिउँदै गरेको अवस्थामा आमालाई भेटेपछि उनले आमालाई सम्झाएका थिए । ‘तँ किन मेरो घरमा आइस् ? चमारे सार्की, गाइको मासु खाने भतुवा सार्की भएर बाहुनको घरमा आउने ? सार्कीलाई त हातले पनि पिट्नु हुन्न भन्दै चप्पल फूकालेर मुखमा थुकी पिटेको हो,’ पीडित बसेलले दिएको जाहेरीमा भनिएको छ ।
न्यौपानेले उनको आमालाई मदिरामा लठ्याएर नाजायज फाइदा समेत लिएको जाहेरीमा उल्लेख छ । प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि उनले राष्ट्रिय दलित आयोगमा समेत उजुरी दिएका छन् । घटना भएको भोलीपल्टै पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपनि प्रहरीले २ हप्ता वितिसक्दा पनि जाहेरी दर्ता गरेको छैन ।
धादिङका एसपी भन्छन्,‘जाहेरी दर्ता हुन्छ, म्याद बाँकी छ’
पीडितले जाहेरी दिएको १७ दिनसम्म जाहेरी दर्ता नगर्ने धादिङ प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जाहेरी आएको स्विकार गरे । तर, दर्ता किन गर्नु भएन भन्ने दियोपोस्टको प्रश्नमा उनले अदालत बन्द भएका कारण दर्ता भएको दाबी गरे ।
‘जाहेरी आएको छ । दर्ता पनि हुन्छ । जो पीडक भनिएका मान्छे ७० वर्षको हुनुहुन्छ । उहाँ पनि सम्पर्कमै हुनुहुन्छ । पीडित पनि सम्पर्कमै हुनुहुन्छ । हामी जाहेरी दर्ता गर्छौं । चाडबाड भएका कारण अदालत पनि बन्द भयो,’ एसपी खड्काले भने ।