सिद्धलेक गाउँपालिका २ का वडाध्यक्ष कमल गुरुङले सम्पत्ति खान आफ्नै भाईको टाउको फूटाए !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, ६ मंसिर । धादिङको सिद्धलेक गाँउपालिका वडा नं.२ का अध्यक्ष कमल बहादुर गुरुङले एकलौटि रुपमा सम्पत्ति हत्याउन आफ्नै भाईको हत्या प्रयास गरेको आरोप लागेको छ ।

शुक्रवार दिउँसो सिद्धलेक गाँउपालिका स्थित् नलाङ स्थित् आफ्नै घरमा अशंबण्डाको विषयमा छलफल गर्न भन्दै भाईहरुलाई घरमै बोलाएर वडाध्यक्ष गुरुङले छोरा राजेश गुरुङको साथ लिई कुटपीट गरेको पाइएको छ ।


वडाध्यक्ष गुरुङले पहिलेदेखिको अंशवण्डाको विवादलाई समाधान गर्ने प्रयासका लागि बोलाएपछि गएका जुम्ल्याहा दाजुभाई माथी एक्कासी आक्रमण गरेका हुन् ।

पैतृक सम्पती अंशबण्डाको विषयमा सामान्य छलफल गरिरहंदा, वडाध्यक्ष समेत रहेका दाजु कमल गुरुङले एक्कासी आक्रमण गरी निर्घात् कुटपिट गरेको पिडित राम गुरुङले बताए ।

“बृद्ध आमासंग हामीले छलफल गरिरहेका थियौं, एक्कासी भतिजो राजेशले हामीमाथी हातपात गर्न थाल्यो, त्यसपछि हामी दाजु भाईले छेक्ने कोशिस गर्यौं, त्यसपछि दाजु कमल गुुरुङले एक्कासी गोठवाट भैंसीलाई बाध्ने किलाले टाउकोमा हिर्काए, मलाई छेक्ने क्रममा भाई लक्ष्मण माथी समेत आक्रमण भयो । ज्यानै मार्ने कोशिस गरेका थिए, बाल बाल ज्यान जोगायौं,’ पिडित राम गुरुङले भने ।
गुरुङका अनुसार पैत्रिक सम्पती अंशबण्डाको विषयमा उनिहरु दाजुभाईको लामो समयदेखि विवाद थियो । दाजु भाईबीच बोलचाल समेत बन्द थियो । तर यस प्रकारको आक्रमण भने अहिले पहिलोपटक भएको पिडित राम गुरुङले बताए ।


उता दाजु राम गुरुङमाथिको आक्रमणलाई छेक्ने क्रममा अर्का भाई लक्ष्मण गुरुङमाथी समेत आक्रमण भएको छ । आक्रमणवाट उनीहरु गम्भिर घाईते भएका छन् । आक्रमणमा परी राम गुरुङको टाउको फुटेको छ भने शरिरभरी चोटपटक लागेको छ । आक्रमणमा परि घाइते लक्ष्मणको समेत हात भाँच्चिनुका साथै शरिरभरी चोट लागेको छ ।

उनिहरु हत्या प्रयास गर्ने वडाध्यक्ष समेत रहेका दाजु कमल गुरुङ र भतिजो राजेश गुरुङका बिरुद्ध जाहेरी दिनका उनीहरु जिल्ला प्रहरी कार्यालय धादिङ गएका छन् ।


पिडित दाजुभाई राम र लक्ष्मण गुरुङ जुम्ल्याहा दाजुभाई हुन् भने हत्या प्रयास गर्ने वडाध्यक्ष कमल गुरुङ उनिहरुका जेठा दाजु हुन् । उनिहरुको पैतृक सम्पती अंशवण्डा समेत भएको छैन । बाबुको नाममा रहेको ९० रोपनी भन्दा बढि जग्गा बाबुको मृत्युपस्चात् अंशबण्डा गर्ने विषयमा दाजु कमल गुरुङले एकलौटि रुपमा अंश आफ्नो नाममा नामसारी गर्न लागेपछि उनिहरु बीच विवाद भएको थियो ।


हत्या प्रयास गर्ने वडाध्यक्ष कमल गुरुङ साविक नेकपा एमालेवाट सिद्धलेक गाँउपालिका वडा नं.२ मा वडाध्यक्ष निर्वाचित् भएका हुन् । उनी तात्कालिन नेकपा एमाले नलाङ गाँउ कमिटीका अध्यक्ष एवं नलाङ गाविसका पुर्वउपाध्यक्ष समेत हुन् । त्यस्तै उनका छोरा राजेश राष्ट्रिय युवा संघ धादिङका सदस्य समेत हुन् ।