काठमाण्डौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङको गजुरी गाँउपालिकामा आँउदा अध्यक्ष गाँउपालिका छाडेर सम्पर्क विहिन।
मंगलबार दिँउसो मुख्यमन्त्री पाण्डे गजुरी गाँउपालिका कार्यालय आँउदा गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत सम्पर्क विहिन भएका हुन् । गजुरी गाँउपालिका स्थाई घर भएका पाण्डेलाई मंगलवार गजुरी सहित बेनीघाट रोराङ र गल्छि गाउँपालिकाले शुभकामनासहितको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा आएका मुख्यमन्त्री पाण्डेले गाँउपालिका कार्यालयको निरिक्षण समेत गरेका थिए । अन्य गाँउपालिकाको कार्यालयको निरिक्षणसंगै गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका तथा वडा अध्यक्षहरु र कर्मचारीहरुसंग परिचय गर्दै गजुरी गाँउपालिका आएका पाण्डे गजुरी गाँउपालिका कार्यालय आँउने थाहा पाएलगत्तै गजुरी गाँउपालिका अध्यक्ष बस्नेत कार्यालयनै नआई फरार भएका हुन् ।
उता गाँउपालिकाले भने पाण्डेलाई स्वागत गर्ने कार्यक्रम आयोजना गरेको थियो । यद्धपी अध्यक्ष बस्नेत नभएपनि उपाध्यक्ष सिता ढुंगानाले पाण्डेलाई स्वागत गरेकी थिइन् ।
मंगलवार नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ आउनेबारे अघिल्लो दिनै गाँउपालिका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतले खबर पाईसकेका थिए । पाण्डे गजुरी आँउदा गाँउपालिका कार्यालयको निरिक्षण गर्नसक्नेबारे बस्नेतले आँकलन गरिसकेका थिए । सामाजिक संजालमा उक्त बिषयबारे हल्लाखल्ला फैलिएपछि अध्यक्ष बस्नेत चितवन भागेका हुन् । उनी नेकपा एमालेको आगामी १० औं महाधिबेशन स्थल निरिक्षणका लागि भन्दै चितवन गएको उनीसम्बद्ध श्रोतले जनाएको छ । श्रोतका अनुसार गत अघिल्लो बर्षमा गाँउपालिकाले लगाएको गिट्टी ढुगांको निकासी कर संकलनको ठेक्कामा भएको घोटालाबारे मुख्यमन्त्रीले प्रश्न गर्नसक्ने भन्दै उनी भागेका हुन् ।
गत बर्ष गजुरी गाँउपालिकाले उत्पादन, उत्खनन् तथा संकलनबाट प्राप्त हुने ढुङ्गा, बालुवा, गिट्टी लगायतको शुल्क उठाउने १२ करोडको निकासी करको ठेक्कामा अवैधानिक तरिकाले ठेकेदार कम्पनीलाई छुट दिलाउन लागेका थिए । उक्त ठेक्कामा बस्नेत स्वयम् सम्लग्न रहेको भन्दै स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी हालेका थिए।