काठमाडौं । नेपालको राजनीतिमा भारतीय संस्थापन पक्षले सुक्ष्म व्यवस्थापन ‘माइक्रो म्यानेजमेन्ट’ गर्दै आएको ओपन सेक्रेट छ । भारतीय पक्षले नेपालको सिमा मात्रै होइन राजनीति, सत्ता र सरकारमा समेत अतिक्रमण गर्दै आएको छ ।
निर्वाचनका बेला भोटका लागि भारतीय संस्थापन पक्षको विरोध गरे जस्तो गर्ने र भोट आर्जनपछि भारतीय खुफिया एजेन्सीका प्रमुखलाई बालुवाटारमै बोलाएर गोप्य वार्ता गर्ने प्रधानमन्त्री समेत यही देशमा छन् ।
केहीदिन भित्रै अब सरकार निर्माणको प्रक्रिया सुरु हुनेबेला फेरी भारतको हस्क्षेपबारे समाचारहरु आउनेछन् । नेपालको पछिल्लो राजनीतिक घटना क्रमबारे रिपोर्टिङ गर्न नेपालस्थित भारतीय राजदूत यतिबेला दिल्लीमा उच्चस्तरिय भेटघाटमा छन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर सांसद बनेका अमरेश सिंह पनि दिल्ली पुगिसकेका छन् । दिल्लीको चलखेल के हुने भन्ने अनुमान रहेकै बेला एक संदिग्ध व्यक्ति सांसद बन्ने सुचीमा रहेको फेला परेको छ ।
कुनै समय भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषद (एविविपी)का एक जना होनहार नेता नेपालको संसद छिर्ने दाउमा रहेको पाइएको छ । आफूलाई भारतीय गृहमन्त्री अमित शाहको स्वकिय सचिव समेत बताउँदै आएका सन्दिप राना मगर यतिबेला समानुपातिक सांसद बन्न दौडधुपमा लागेका छन् ।
नेपाली काँग्रेसको तर्फबाट सांसद बन्ने समानुपातिक बन्द सुचीमा ३ नम्बरमा नाम रहेको व्यक्ति हुन्– सन्दिप राना । स्थायी घर पाल्पा रहेका उनी आदिवासी जनजाती कोटाबाट समानुपातिक सांसदको उम्मेदवार बनेका उनी यसअघि भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषदका नेता हुन् । गृहमन्त्री अमित शाहका अति निकट पात्र बताउने उनले भारतीय नागरिकता आधार कार्ड लगायत समेत लिइसकेका छन् ।
‘उहाँ भारतीय जनता पार्टीका तर्फबाट नेपालमा सन्दिग्ध गतिविधिमा हुनुहुन्छ । त्यस्ता व्यक्तिलाई कांग्रेसले समानुपातिक सुचीको पहिलो तेस्रो नम्बरमा राखेको छ,’ कांग्रेसकै एक नेता भन्छन्,‘विपीको विचार र समाजवादको यात्रामा कांग्रेस हुँ भनेर हिँडेका हजारौँ नेता कार्यकर्ता हुँदा हुँदै यस्ता व्यक्तिहरुले पार्टीबाट सांसदको लोगो भिर्नेछन् ।’
पाल्पाकै एक स्थानिय नेताका अनुसार सन्दिपले निर्वाचन अघि आफूलाई भोट दिए भारतीय जनता पार्टी र राजदूतावास मार्फत बजेट ल्याइदिने आश्वासन दिएका थिए । स्रोतका अनुसार उनले दूतावास मार्फत कालिगण्डकी फाउन्डेशन भन्दै लाखौँ रुपैयाँ अनियमितता समेत गरेका छन् । भारतीय दूतावासले उनीद्वारा सञ्चालित कालिगण्डकी फाउन्डेशनलाई विभिन्न परियोजनामा लगानी गर्दै आएको छ । केही एम्बुलेन्स समेत दिएको स्रोतले जनाएको छ ।
‘पाल्पामै लामो समय राजनीति गरेका, कांग्रेसको लागि जीवन अर्पण गरेकाहरुले सांसदको टिकट त परको कुरा वडाध्यक्ष समेत पाएनन् । तर, सन्दिपले भारतीय जनता पार्टीमा लागेको भरमा नेपाली कांग्रेसले समानुपातिक सांसदको बन्द सुचिमा तेस्रो नम्बरमा राखेर ईमान्दार कार्यकर्तामाथि अन्याय गर्यो,’ पाल्पाकै एक नेता भन्छन् ।
उनको समाजिक सञ्जाल नियाल्दा पनि उनले भारतीय जनता पार्टीका विभिन्न गतिविधि र भारतीय झण्डामा आफुलाई सजाएका छन् ।
पछिल्लो प्राप्त मत परिणाम अनुसार कांग्रेसले २६ लाख ५२ हजार ६ सय २८ मत प्राप्त गरेको छ । केही स्थानको गणना हुन बाँकी नै छ । समानुपातिक निर्वाचन मतको आधारमा दोस्रो दलको रुपमा रहेको कांग्रेसबाट पुरुष तर्फ २ जना मात्रै सांसद हुने अवस्था छ ।
संविधानमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी भएका कारण कांग्रेसमा अधिकांश पुरुष उम्मेदवारले हात झिक्नु पर्ने अवस्था छ । त्यसो हुँदा रानाको समेत संभावना न्युन रहेको स्रोत बताउँछ । तर, उनी भने आफू सांसद पक्का हुने भन्दै आएका छन् ।