त्रिशुली नदिको बालुवा ‘तस्करीमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलीया नै संलग्न !

दियो पोस्ट  

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ त्रिशुली नदिमा अवैध रुपमा उत्खनन् हुने गरेको थाहा भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका विष्णु थपलिया र शिव सुवेदी लगायतको समुहले स्थानिय सरकारलाई समेत गुमराहमा राखेर त्रिशुली नदिबाट अवैध उत्खनन् र नदि दोहन शुरु गरेका हुन् ।

आफूलाई नेपाली कांग्रेसको नेता समेत बताउँदै आएका थपलिया र सुवेदीको समुहले सिद्धलेक ६ स्थित रहेको परेवाटार (विहानी पम्प नजिकै) नदि दोहन गरेर हैरान पारेपछि स्थानिय निकायका उच्च अधिकारीहरु नै प्रमुख जिल्ला अधिकारीको शरणमा पुगेका छन् । गाउँपालिका अध्यक्ष परशुराम खतिवडा लगायतले नदि उत्खनन् रोकी पाउँ भन्दै सिडिओ कार्यालयमै गुहार मागेपछि केहीदिनका लागि उत्खनन् बन्द भएको छ ।

अवैध उत्खनन्बारे प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई सम्पर्क उनको फोन उठेन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रलाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् । त्यस्तै गाउँपालिकाका सुचना अधिकारी हरि पाटा मगरले पनि फोन उठाएनन् । स्रोतका अनुसार अवैध नदि उत्खनन्मा गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत मिश्रको समेत समलग्नता छ । उनकै सेटिङमा नदिजन्य पदार्थको अवैध उत्खनन् भएको स्रोतले जनाएको छ ।

नदि उत्खनन्बारे प्रतिक्रिया लिन धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका आरोपी विष्णु प्रसाद थपलियालाई सम्पर्क गर्दा उनले आफूहरुले ट्याक्टरबाट नदिको ढुंगा र ग्राबेल उत्खनन् गरेको स्विकार गरे । ‘ट्याक्टर लगाएर ढुंगा र नदिजन्य पदार्थ उत्खनन् गरिएको हो । त्यो सामान्य विषय हो त्यही पनि अहिले रोकिएको छ ।’

नदिमा ट्याक्टर नै लगाएर भएपनि उत्खनन् गर्न पाइन्छ र भन्ने दियोपोस्टको प्रश्नमा उनले उत्तर दिएनन् ।
अध्यक्ष थपलिया गिता ग्याँसका समेत मालिक हुन् । उनी सानाकिशान सहकारीका प्रबन्धक समेत हुन् । सहकारीको प्रबन्धक र संघको अध्यक्ष दुवै पदमा उनी अवैध रुपमा बसेको एक व्यवसायी बताउँछन् ।