फाइल फोटो
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताएका छन्। लिखित सहमति नभए पनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक सहमति भएको प्रचण्डको दाबी छ।
भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो विषयमा लिखित, औपचारिक केही पनि भएको थिएन। छलफल त पक्कै पनि भएको थियो। गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा भएकै हो। त्यो समझदारी कायमै छ।’
सरकार गठनको विषयमा गठबन्धनका दलहरूबीच छलफल चलिरहेको प्रचण्डको भनाइ छ। बाहिर चर्चा भएजस्तो एमालेसँग तालमेल गरेर सरकारमा जाने स्थिति नभएको उनले प्रस्ट पारेका छन्।
‘एमालेसँगको कुरा जसरी बाहिर चर्चामा भएको छ, त्यस्तो स्थिति होइन, स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दल, नेताहरूको बीचमा छलफल चलेको छ। नयाँ आएका पार्टीहरूसँग पनि कुरा चलेको छ। त्यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘मैले प्रधानमन्त्रीको निम्ति सबै चिज दाउमा लगाउने कुरा कहिल्यै पनि गरेको छैन। बरु गठबन्धनको निम्ति, संविधान निमार्णको निम्ति या निर्वाचनको निम्ति धेरै नेताहरूलाई प्रधानमन्त्रीको प्रस्तावचाहिँ गरेको छु।’