काठमाडौं, मंसिर १८ । राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको चारदिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । मंगलबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले सरकारले आफुले गरेका कुनैपनि प्रतिवद्धता पुरा नगरेको भन्दै समर्थन फिर्ता लिन लागेको बताए ।
सरकारमा जान र संसदमा बस्नको लागि सरकारलाई समर्थन नगरेको तर संविधान संसोधन, आफ्ना नेता कार्यकर्तामाथि लागेको मुद्धा फिर्ता तथा मधेशी जनताको हकहितका लागि सरकारमा गएको उनले स्पष्ट पारे । तर, सरकारले राजपाको सर्तहरुलाई वेवास्ता गरि प्रतिवद्धता गरेअनुसारका कुनैपनि कुराहरुलाई कार्यन्वयन नगरेको भन्दै सरकारमा बसिरहनुको औचित्य नरहेको बताए । संविधान संसोधन र मुद्धा फिर्ताको सम्वन्धमा अझैसम्म पनि सरकारले आफुहरुसंग कुनैपनि छलफल सल्लाह नगरेको र गर्ने प्रयास नगरेको आरोप लगाउँदै नेता कर्णले छिट्टै पार्टी केन्द्रिय समितीको वैठक बसि सरकारबाट बाहिरिने बताए ।
वर्तमान सरकार पुर्ण रुपमा असफल भैसकेको र देशमा शान्ति सुव्यवस्था तथा अमनचयनको व्यवस्था गर्न नसकेको भन्दै नेता कर्णले सरकारको तिव्र आलोचना समेत गरेका छन् । निर्मला हत्याकाण्ड, साँढे ३३ केजी सुन तस्कर प्रकरण लगायतका कैयौँ मुद्धाहरुलाई सरकारले गम्भिर ढंगबाट छानविन गरि अपराधि पत्ता लगाउन नसकेकोले पनि सरकारप्रतिको विश्वास गुम्दै गएको बताए ।
नेता कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्न योगदान दिएको समेत आरोप लगाएका छन् । उनले भने, ‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन। तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो। यो हाम्रो संविधानको बर्खिलाप हो।’