पाँच दिनदेखिको निरस बैठकलाई गगन र धनराजले यसरी तताए

Diyo post  

काठमाडौं, १९ मंसिर । आफूलाई देशकै सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी दाबी गर्दै आएको नेपाली कांग्रेसमा अहिले पार्टीको विधान कस्तो बनाउने भनेर बहस जारी छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा संसोधन समितिले विधानको मस्यौदा केन्द्रीय समितिमा बुझाएपछि पछिल्लो ६ दिनयता पाँच दिन बैठक चलिसकेको छ । बैठकमा ४० भन्दा बढी केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । केही नेताहरुको धारणा फरक भए पनि मंगलबार युवा नेता गगन थापा र धनराज गुरुङको प्रस्तुति भने फरक रहन पुग्यो ।

गगनले केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्य, जिल्लाको नेतृत्वमात्रै होइन कार्यकरी पदहरु जति छन् सबैका लागि ७० वर्षको उमेरहद लगाउनुपर्ने माग गरे । बुढो हुँदासम्म पनि कांग्रेसमा सक्रिय हुन खोज्दा राजनीतिमा युवाहरुलाई बाटो नखुल्ने, राजनीतितिर लगाव नहुने भन्दै ७० वर्षको उमेरहद लगाउँनैपर्ने बताएका हुन् ।
आफू १० वर्ष अघि र १० वर्षपछि पनि सबैभन्दा कम उमेरको केन्द्रीय सदस्य हुने भन्दै थापाले अनिवार्य रुपमा यो प्रावधान राख्नुपर्ने माग गरेका हुन् ।

जिते प्रधानमन्त्री हारे सभापतिको राजीनामा: धनराज गुरुङ
अर्का प्रभावशाली युवा नता धनराज गुरुङले भने झन् नयाँ प्रस्ताव ल्याएका छन् । निर्वाचनमा टिकट बाँड्ने संसदीय बोर्डको सबै जिम्मा सभपातिलाई दिने, पार्टीलाई जिताउने भूमिका उहाँलाई दिने तर, पार्टीले जिते प्रधानमन्त्री बनाउने पराजित भए सभापतिले राजीनामा दिनुपर्ने विषय राख्नुपर्ने माग गरे ।

गुटभन्दा माथि उठेर नेताहरुलाई काम गर्न सक्ने बनाउनका लागि यस्तो प्रावधान राखेर जानुपर्ने उनको भनाई थियो ।
यी दुई नेताले नयाँ विषय प्रवेश गराएपछि नेताहरु मुखामुख गर्न थालेका थिए । यस अघि बोल्ने नेताहरुले पदाधिकारी बढाउनुपर्ने, दुई थरी सदस्यता राख्नुपर्ने विषयमा लामो समय लिएर छलफल गरेका थिए । तर, कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका अधिकांश शीर्ष नेताहरु ७० वर्ष कट्ने तरखरमा छन् । यस्तोमा लोकप्रिय युवा नेताहरुको यस्तो प्रस्ताव आएपछि नेताहरुमा छटपटि देखिएको छ ।

सम्बन्धित खबर